स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई बिधि पुजा मात्र गर्न वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको अनुरोध
कपन अनलाइन
काठमाडौँ ,बैशाख २७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशे लगायतको स्थानमा आज राती बाट शुरु हुने कान्ति भैरब जात्रा संचालन नगरी नित्य तथा बिधि पुजा मात्र गर्न र सामाजिक दुरी कायम गर्न वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गरेका छन । विश्वभरी फैलिंदै गइरहेको कोभिड १९ भेरियण्ट को संक्रमणतिब्र गतिमा फैलिदै गएको र जात्रा संचालन गर्दा भिडभाड बढ्ने र कोरोनाको जोखिम बढ्ने भएकोले सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ अनिवार्य मास्क प्रयोग गरि नित्य र बिधि पूजा बाहेक अन्य पुजापाठ जात्रा संचालन लगायतका क्रियाकलाप नगरी सहयोग गरिदिन अनुरोध गरेका छन ।
श्रेष्ठले सर्वत्र कोरोना भाइरसको सङ्क्रमण देखिएकाले परम्परा कायम गर्ने नाममा समुदायमा कोरोना भाइरस पस्यो भने नियन्त्रण गर्न गाह्रो हुने हुँदा जात्रा वा पर्वको नाममा भिड गरेर सामूहिक रूपमा भोजभतेर गर्नु अहिले ठिक नहुने भन्दै हामी जीवित रह्यौँ भने मात्रै हामीले हाम्रा चाडपर्व र जात्राहरू भविष्यका सन्ततिका लागि जोगाइदिन सकिने हुँदा अवस्था बुझेर एकदम न्यूनतम मानिसहरू सहभागी भएर बिधि पुजा मात्र गर्न र सामाजिक दूरी कायम गरि स्वयम् अनुशासनमा बस्न समेत अनुरोध गरेका छन् ।
प्रत्येक वर्ष मातातिर्थ औंशीको अघिल्लो दिनबाट शुरु भई अक्षय तृतीयाको दिन सम्म चल्ने क्रान्ति भैरव जात्रा गोकर्णको देशे गाउँको डुठु लाक्षी टोलमा रहेको भैरब उत्तर बाहिनीमा रहेको आफ्नो आमा कान्ति भैरवीको मुख हेर्न जाने धार्मिक मान्यता अनुसार सो जात्रा मनाउने गरिन्छ।भातको देउता बनाएर फलफुल मिठाइ सहित बिभिन्न परिकारको साथमा भैरबको रथमा राखेर देशे गाउँको डुठुलाक्षीबाट बाजागाजा सहित उत्तर बाहिनीमा रहेको कान्ति भैरवको मन्दिरमा बिहानै पुर्याउने चलन रहेको र त्यसपछि जात्रा सुरु हुने गर्दछ । बिहान रथलाई कान्ति भैरबमा पुर्याएर केही बेर उत्तर बाहिनी मन्दिर परिसरमा राखेपछि स्थानीयले बलि सहित पुजा गरेपछि पुनस् बाजा गाजा सहित सिन्दुर जात्रा गर्दै उक्त भैरबको रथलाई स्थानीय क्षेत्रमा परिक्रमा गरिने परम्परा रहेको छ ।रथलाई सलाखीटार, भैरब चौर, तालिन्चोक परिक्रमा गर्दै पन डुठुलाक्षी पुर्याएर जात्रासम्पन्न हुने गर्दछ ।