चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

 

ट्राफिक समाचार
काठमाडौ, ०२ वैशाख ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाईरहेको छ । महाशाखाले चोरी भएका १७ वटा मोटरसाइकलर ९ वटा स्कुटर गरि २६ वटा मोटरसाइकल खोजतलास गरी बरामद गर्न सफल भएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू तथा धादिङ, चितवान, मकवानपुर, बारा जिल्लाबाट चोरी भएका उक्त मोटरसाइकलहरू खोजतलास गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन्  ।
कार्यक्रममा बोल्नुहुदैँ एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिईरहेको बताए  । उहाँले भने  “अधिकांश मोटरसाईकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाईएको छ भने चोरी भएका मोटरसाईकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने गरेको पाईएको छ ।” त्यसकारण सवारी धनीले सवारी साधन चोरी हुन सक्छ भनी सावधानी नअपनाउँदा सवारी चोरी भईरहेकोले सम्बन्धित सवारी धनी एवम् चालक स्वयम् जिम्मेवार भई पार्किङ्ग गर्दा बिशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने भट्टराईले सुझाव दिएका थिए  ।

ट्राफिक प्रहरीले बिशेष सूचना संकलन गरि अपरेसनबाट मोटरसाइकलहरु बरामद गर्द्छन् भने चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गर्द्छन र अन्य अनुसन्धान पश्चात फेला परेका
र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ ।
यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।
चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा लगईन गरेर निवेदन दिने सकिने व्यवस्था समेत ट्राफिक महाशाखाले गरेको छ ।

तपाइँको प्रतिक्रिया ।