ल्याण्डफिल्ड साइट क्षेत्रमा पूर्वाधार विकासका लागि काठमाण्डौ महानगरपालिकाको ६ करोड

ल्याण्डफिल्ड साइट क्षेत्रमा पूर्वाधार विकासका लागि काठमाण्डौ महानगरपालिकाको ६ करोड
कपन अनलाइन
झापा, चैत्र १९ ।

काठमाडौँ महानगरपालिका र सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधि बिचको छलफल सकारात्मक भएको भएको छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए ।

फोहोर विसर्जनमा अवरोध भएपछि आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उनीहरुसँग करीब पाँच घण्टा छलफल गरेपछि पुनः भोलि एक बजे बस्ने र निर्णयमा पुग्ने गरी छलफल स्थगन भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

छलफलका क्रममा उनीहरुका माग सम्वोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका वासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि केही प्रस्ताव अघि सारेपछि उनीहरु सकारात्मक बनेका हुन् ।

छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखेका थिए  ।

त्यसैगरी प्रमुख शाक्यले यस अघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स पुनः खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस अघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि व्यक्त गरेपछि उहाँले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

छलफलमा सहभागी नुवाकोट जिल्लाका प्रदेश सांसद बन्द्री मैनाली ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा, प्रभावित क्षेत्रका वडाका वडाध्यक्ष, धुनिवेँसी नगरपालिकाका प्रभावित क्षेत्रका वडाध्यक्ष, विभिन्न सरकोकार समितिका प्रतिनिधिले  विभिन्न माग राखेको थिए । उनीहरुले आफूहरु फोहोर विसर्जनका लागि अवरोध गर्ने पक्षमा नभएको भन्दै माग सम्वोधनमा सकारात्मक बन्न दबाब दिएका थिए ।

‘प्रभावित क्षेत्रका वासिन्दाको जायज मागको सम्वोधन हुनुपर्छ,’ सांसद मैनालीले भने , ‘बैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने कुरालाई राज्य र महानगरपालिकाले पनि योजनावद्ध ढंगले नसोच्ने हो भने समस्या समाधान हुँदैन ।’

उनले प्रभावित क्षेत्रका जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको लागि राज्यले कन्जुस्याई गर्नु नहुने बताएका थिए ।

त्यस्तै  अध्यक्ष लामाले फोहोर विसर्जनमा अवरोध गर्नु आफूहरुको बाध्यता भएको बताएका थिए  ।‘हामीलाई पनि फोहोर रोक्न मन छैन,’ लामाले भने , ‘हाम्रा जायज माग सम्वोधन गर्नुहोस । फोहोर विसर्जनमा अवरोध हुँदैन । काठमाडौँका मात्रै जनता हुन् सिसडोल प्रभावित क्षेत्रका जनता नै होइनन् भन्ने ढंगले राज्यले बुझ्नु भएन । यहाँका जनताको मानवअधिकार हनन् हुनुभएन भन्ने मात्रै हाम्रो भनाई हो ।’

ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता लामाले पनि फोहोर व्यवस्थापनको विकल्प खोज्नुपर्नेमा जोड दिदैँ राज्यले दमन गरेर फोहोर विसर्जन गर्नेमा भन्दा पनि स्थानीयका माग पूरा गरेर सहमतिमा अघि बढ्नु पर्नेमा जोड दिएकी थिइन् भने   छलफलका क्रममा अधिकार सम्पन्न समिति गठन हुनुपर्नेलगायतका माग अघि सारिएको थियो ।

उनीहरुले विगतमा पनि पटक–पटक सम्झौता कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको भन्दै नुवाकोटका सबै दलका शिर्ष नेतासहितको उपस्थितिमा भोलि १ बजे छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन् ।

भोलिको बैठकमा पुर्वमन्त्रीहरु डाक्टर रामशरण महत, डाक्टर प्रकाशचन्द्र लोहनीलगायतका नेतालाई पनि सहभागी गराउने र अन्तिम निष्कर्षमा पुग्ने सहमतिसहित बैठक समापन भएको काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।