बुढानीलकण्ठमा सोच नेपालको नागरिक संलग्नताको असल अभ्यास र सिकाइ विषयक छलफल
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ६।
बुढानीलकण्ठ नगरपालिकामा स्थानिय सरकारमा नागरिक संलग्नताको असल अभ्यास र सिकाइ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। एफएचआइ (FHI) र युएसएआइडि (USAID) को सहयोगमा सोच नेपाल द्धारा संचालित पारस्पारिक जवाफदेहिताः स्थानिय अभियान अन्तर्गत बुढानीलकण्ठ नगरपालिका संगको सहकार्यमा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकामा नागरिक संलग्नताको क्षेत्रमा भएका राम्रा अभ्यास, चुनौती र सिकाईको बारेमा अध्ययन गरी नगर कार्यपालिका, स्थानिय संघ संस्था, लगायतको सहभागितामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
नगरपालिकाले अर्थपुर्ण नागरिक संलग्नताको साझा लक्ष्य हासिल गर्न नागरिक समाज र नागरिक समाज संस्थासंग अबका दिनमा सहकार्य गर्नसक्ने क्षेत्रहरुमा अध्ययन केन्द्रित रहेको अध्ययनको प्रस्तुतिकरण भुमिदत्त पौडेलले गरेका थिए। कार्यपत्र प्रस्तुत पश्चात कार्यपत्रमा छलफल गर्दै सहभागिहरुले सुझाब, प्रतिक्रिया प्रदान गरेका थिए ।
छलफल पश्चात नागरिक समाज संस्था र नगरपालिकाले गर्ने कार्यक्रमहरुमा समन्वय तथा सहकार्य गर्नुपर्ने, कार्यक्रमहरुको नियमित अनुगमन गर्नुपर्ने, त्रैमासिक समिक्षा हुनुपर्ने लगायतका निष्कर्ष निकालिएको थियो ।
कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सुदर्शन दाहालले भ्रष्टाचार, अपारदर्शिता, कमजोर शासन प्रक्रिया लाई सुधार गर्न नागरिक सहभागिता आवश्यक रहेको बताउदै मन्त्रालयले हरेक प्रदेशमा नागरिक समाजका असल अभ्यास आदान प्रदानको अभ्यास थालनी गरेको बताएका थिए।
गैर सरकारी संस्था महासंघ काठमाण्डौका अध्यक्ष प्रदिप डंगोलले सहजीकरण गरेको कार्यक्रममा नगर प्रमुख उद्धब खरेलले नगरका हरेक गतिविधिमा सिमित व्यक्तिको नियमित सहभागिताले सार्थक नागरिक सहभागिता सुनिश्चित गर्न नसकिएको धारणा राखेका थिए।
भ्रष्टाचार नियन्त्रण, शुसासन प्रबर्धनका लागि नागरिक सहभागिता आवश्यक रहेको बताउदै उनले नागरिक समाज संस्थाले गरेका कामको त्रैमासिक समिक्षाका लागि पहल गर्ने प्रतिवदत्ता ब्यक्त गरेका थिए।