बुढानिलकण्ठमा टिक्दैनन प्रमुख प्रशासकीय अधिकृत,७ वर्षमा ११ हाकिम परिवर्तन
कपन अनलाइन
काठमाडौं ,चैत्र ३।
बुढानिलकण्ठ नगरपालिकामा सात वर्षमा ११ प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन। २०७१ शालमा नगरपालिका घोषणा भए संगै निमित्त कार्यकारी अधिकृत बनेकी अनिता बज्राचार्य देखि प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा सम्म आइपुग्दा बुढानिलकण्ठ नगरपालिकाले ११ जना हाकिमको प्रशासनिक नेतृत्वलाई हेर्ने ,देख्ने ,भोग्ने र लखेट्ने अनुभव संगालिसकेको छ।
यी सात वर्षमा बुढानिलकण्ठ नगरपालिकामा सबै भन्दा बढी समय प्रमुख प्रशासकीय अधिकृतका रुपमा विश्वराज मरासिनीले करिव १ वर्ष ६ महिना २८ दिन नगरपालिकाका कर्मचारीको नेतृत्व गरेका छन भने कुमार प्रसाद कोइरालाले ९ महिना ८ दिन बिताएका छन।
नगरपालिकाको कार्यसम्पादनका मेरुदण्डका रुपमा रहेका कर्मचारीहरुलाई नीति ,विधि र आचार संहितामा बाधेर नेतृत्व गर्नुपर्ने प्रमुख वारम्वार परिवर्तन हुँदा सुशासनमा प्रत्यक्ष अशर पुगेको अफ्ट्यारो अवस्थामा अब १२ औ प्रमुख प्रशासकीय अधिकृत आउने तयारीमा रहेका छन।
बुढानिलकण्ठ नगरपालिकामा दुई पटक प्रमुख प्रशासकीय अधिकृत बनेका विरेन्द्र भारती बाहेक अन्य कुनै पनि हाकिम दोहोरिएका छैनन भने अनिता बज्राचार्य र राजु न्यौपानेले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन।
बुढानिलकण्ठ नगरपालिकामा भारतीले पहिलो पटक १० महिना ३३ दिन कर्मचारीको नेतृत्व गरेका थिए भने दोश्रो पटक उनले ६७ दिन नगरपालिकामा बिताएका थिए।
त्यस्तै नगरपालिकामा प्रथम महिला प्रमुख प्रशासकीय अधिकृत बनेर आएकी लिला अधिकारी घुस रकम सहित रंगेहात पक्राउ परे पछि आएका प्रदिप पौडेलले १० महिना २३ दिन प्रशासनिक नेतृत्व प्रदान गरेका थिए भने हाल अख्तियार प्रवक्ता रहेका नारायण रिसालले ६ महिना ९ दिन प्रमुख प्रशासकीय अधिकृत रहेका थिए।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा स्थानीय तहको निर्वाचन भएको समयमा रहेका विश्वराज मरासीनी देखि बैकुण्ठ सापकोटा सम्म आइपुग्दा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरीईसकेका छन।
नगरपालिकाको कार्यसम्पादनमा मुख्य भूमिका निर्वाह गर्ने प्रमुख प्रशासकीय अधिकृत मध्ये कुनै पनि हाकिमले जनप्रतिनिधिहरुले २०७४ शाल जेष्ठ १० गते वडा नं ८ को गोल्फुटार मैदानमा सपथ खाएको दिन बाट २०७७ चैत्र ३ गते सम्म आइपुग्दा दुई वर्षको सेवा अवधि पुरा गरेका छैनन।
२०७४ शाल बैशाख ३१ गते निर्वाचन भएको मिति बाट करिव ३ वर्ष ११ महिना ३ दिन कार्यकाल सम्हालिसकेका जनप्रतिनिधिहरुले आफ्नो लक्ष ,उदेस्य र नीतिलाई कार्यन्वयन गर्ने मुख्य संयन्त्रको नेतृत्व यसरि वारम्बार परिवर्तन हुने कारणहरुका वारेमा गम्भीर र संवेदनशील बनेर ठोस योजना ल्याउनुपर्ने बहस नगरपालिकामा शुरु गर्नुपर्ने आवस्यकता देखिएको नगरपालिकाका एक सल्लाहकारले बताएका छन ।
सुशासनलाई आफ्ना प्रमुख योजनाको मुख्य खम्बा रहेको घोषणा गरेका नगर प्रमूख उद्दव खरेलले प्रत्येक पटक प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएको समयमा पर्दा भित्र र बाहिर भएका गतिविधिहरु र कारणका वारेमा समिक्षा गरेर राजनीतिक नेतृत्व दिनुपर्ने आवस्यकता देखिएको एक जनप्रतिनिधिले बताएका छन ।
पटक पटक कर्मचारीहरुको अध्ययन ,जनप्रतिनिधिहरुको योजना र उदेस्य आदिलाई गहन अध्ययन गर्ने पूर्ण अवसर नपाउदै प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदा यसले कामचोर चाप्लुस कर्मचारीहरुलाई प्रोत्सहान र कर्मनिस्ट रास्ट्रसेवकहरुलाई समस्या हुने परिस्थिति सृजना हुँदा मन्त्रालय बाट यस नगरपालिकामा हाकिम भएर आउन कर्मचारीहरुले आनाकानी गर्ने अवस्था आउनु दुखद रहेको एक कर्मचारीले बताएका छन।