समायोजनमा एक पद बढुवा हुँदा काठमाडौं महानगरका कर्मचारीहरुमा खुशियाली

समायोजनमा एक पद बढुवा हुँदा काठमाडौं महानगरका कर्मचारीहरुमा खुशियाली

कपन अनलाइन

काठमाडौं ,फागुन २५।

काठमाडौं महानगरमा कार्यरत १५ सय ५० कर्मचारीलाई १ तह माथिको पदमा समायोजन गरिएको छ । फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन — २०७७’ बमोजिम कर्मचारीहरुको समायोजन गरिएको हो । माघ २३ गते बसेको ५६ औं कार्यपालिका बैठकमा पेश भएको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएर  विशेष नगर सभामा समितिले बिधेयक पेश गरिएको थियो ।समायोजन भएका अधिकृत स्तरदेखि माथिल्लो दर्जाका कर्मचारीलाई आज पत्र दिइएको छ ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘सकारात्मक आचरण विकास नेतृत्व विकास तालिम’ मा  बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारीे पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने बताएका थिए  ।

उनले चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको भन्दै  महानगरबाट स्वीकृत भएका नीति तथा कार्यक्रम उपयुक्त भए कि भएनन् भनेर कर्मचारीहरुले  टिप्पणी गरिरहनु नपर्ने बताएका थिए ।

उनले  स्वीकृत कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा  कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउदै   कर्मचारीको समायोजन सेवाप्रतिको उत्प्रेरणाका लागि भएको भनाइ राखेका थिए।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कर्मचारीको  काँधमा ठूलो जिम्मेवारी थपिएको बताउदै उनीहरुको  भावना सम्बोधन भएसँगै नगर सभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा राखेको बताएकी थिइन् ।

त्यस्तै ’ प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नतिजामुखी कार्यप्रणाली अहिलेको आवश्यकता रहेको भन्दै  समायोजनका क्रममा सामुहिक हित र व्यवहारिकता हेरिएको धारणा राखेका थिए ।

सो अवसरमा  सहायक स्तरका कर्मचारीको पत्र विहीबार प्रदान गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिएका थिए।

तपाइँको प्रतिक्रिया ।