बुढानीलकण्ठमा धर्मशाला सहित तिन परियोजनाका लागि भारतको एक अर्ब ४२ करोड सहयोग
कपन अनलाइन
काठमाडौं ,माघ ३०।
, बुढानीलकण्ठमा धर्मशाला निर्माण , सेतो मत्स्येन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण तथा कुमारी छो र कुमारी निवासको संरक्षण र विकासका लागि भारतले एक अर्ब ४२ करोड रुपैयाँ दिएको छ ।
उक्त कार्यका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का परियोजना निर्देशकसहितका साझेदारहरूले बिहीबार तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त हस्ताक्षर समारोहमा भारतीय राजदूतावासको विकास साझेदारी एवं पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता, पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का अधिकारी ललितपुर उप महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौें वडा नम्बर नं. २५ का वडाध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरू पनि सहभागी रहेका थिए ।
काठमाडौंको जनवहालमा रहेको सेतो मत्स्येन्द्रनाथ मन्दिरलाई हिन्दू र बौद्घ दुवै धर्मावलम्बीहरूले पूजा–आराधना गर्दै आएका छन् । भारतीय दूतावासका अनुसार मन्दिर जीर्णोद्धार र सबलीकरणका लागि ६२ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ भने रत्नाकर महाविहारभित्र अवस्थित कुमारी छो नेवार बौद्ध समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रीतिरिवाजहरूमा कुमारी निवासको सम्बन्ध रहि आएको छ ।कुमारी छो र कुमारी निवासको संरक्षण तथा विकासका लागि ४५ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ ।
त्यस्तै स्थानीय रूपमा नारायणथानका रूपमा चिनिने बुढानीलकण्ठ मन्दिर हाताभित्र ३३ करोड ४० लाख रुपैयाँको लागतमा धर्मशाला निर्माण हुन लागेको छ ।