कोभिड– १९ विरुद्धको खोप अभियान अन्तर्गत बुधबार नौ हजार ८४ जनाले खोप लगाए
कपन अनलाइन
काठमाडौं माघ १५। कोभिड– १९ विरुद्धको खोप अभियानअन्तर्गत बुधबार नौ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरू मार्फत नौ हजार ८४ जना व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अभियानको पहिलो दिन नै स्वास्थ्यकर्मीहरूको उत्साहजनक संलग्नता रहेको उनले बताएका छन ।बुधबार खोप प्राप्त गर्नेमा प्रदेश १ का एक हजार दुई सय ५५, प्रदेश २ का सात सय २६, बागमतीका दुई हजार ६ सय ९४, गण्डकीका एक हजार आठ सय ४३, लुम्बिनीका सात सय ३३, कर्णालीका सात सय ५१ र सुदूरपश्चिम प्रदेशका एक हजार ८२ जना रहेका छन् ।
प्रवक्ता डा। गौतमले खोप अभियानको शुभारम्भ सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिए । मन्त्रालयले अभियानको पहिलो दिनमै खोप लगाउने व्यक्ति तथा सेवा प्रदायकहरूको स्वस्फूर्त र उल्लेख्य सहभागिता भएको जनाएको छ ।
अभियानको शुभारम्भपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा खोप कार्यक्रमको स्थलगत अनुमगनसमेत गरेका छन् । उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल र प्रसूति गृह अस्पतालमा रहेका खोप केन्द्रमा प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी सहित उच्चपदस्थ अधिकारीहरूले अनुगमन गरेका थिए ।यस्तै, मन्त्री त्रिपाठी मन्त्रालयका उच्चपदस्थ व्यक्तिहरूलाई लिएर वीर अस्पताल, सिभिल अस्पताल, टेकु अस्पताल र सशस्त्र प्रहरी अस्पतालका केन्द्रहरूमा समेत पुगेका थिए।
फोटो :सरोज बस्नेत