नेकपा राजनीति : बुढानिलकण्ठका कुन नेता कता ?
कपन अनलाइन
काठमाडौं ,पुस १४।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा अहिले प्रधानमन्त्री केपी ओली र प्रचण्ड माधव नेपाल पक्षमा नेताहरुको समर्थन र सहभागिताको दौड तीव्र रुपमा चलिरहेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे संगै त्यस कदमको समर्थन र विरोधमा स्थानीय तहका नेताहरु पनि खुलेर मैदानमा उत्रिएका छन।
देशब्यापी रुपमा भैरहेको यो शक्ति संरक्षण र विस्तारको अभियान अहिले स्थानीय तह सम्म नै आइपुगिसकेको छ। नेकपा भित्र अहिले दुवै पक्ष आफ्नी प्रभाव र संगठन विस्तार गर्ने क्रम संगै स्थानीय नेताहरुले पनि आआफ्नो क्षेत्रमा अभियान शुरु गरिसकेका छन।अहिले कोठे बैठक देखि भेला तथा कार्यक्रम आयोजना गर्दै स्थानीय तहका नेताहरुले आफ्नो कित्ता प्रस्ट गरिरहेका छन।
नेपालको राजधानी काठमाडौंका स्थानीय तहहरुमा पनि अहिले नेताहरु तल्लो तहका कार्यकर्ता सम्मै पुगेर आआफ्नो पक्षमा कार्यकर्ताहरुलाई सम्झाउने अभियानमा लागेका छन।
यसै क्रममा बुढानिलकण्ठ नगरपालिकाका नेताहरु पनि केपी ओली र प्रचण्ड माधव नेपाल पक्षमा खुलेर कार्यक्रताहरुको सम्पर्कमा रहेका छन। नेपाल कम्युनिस्ट पार्टीमा देखिएको पछिल्लो अनौपचारिक विभाजन संगै बुढानिलकण्ठका स्थानीय नेताहरु को कता भन्ने ? आम नगरवासीको जिज्ञाशालाई मध्ये नजर गर्दै बुढानिलकण्ठका नेताहरुको समुहगत पक्षधरताका वारेमा यो सामाग्री तयार गरिएको छ।
बुढानिलकण्ठ नगरपालिकाका तिन नेता नगर प्रमुख उद्दव खरेल ,बागमती प्रदेस सभा सदस्य दिपक निरौला र नेकपा बागमती प्रदेस कमिटी सचिवालय सदस्य सुन्दर पुर्कुटी नेकपा केन्द्रीय सदस्य बनेका छन। नेकपा केन्द्रिय सदस्यको सपथ संगै उनीहरुले प्रधानमन्त्री ओली पक्षमा कार्यकर्ताहरुलाई समेट्ने अभियान थालीसकेका छन।
त्यस्तै नेकपा काठमाडौंका सचिवालय सदस्य तथा कपन क्षेत्रका प्रभावशाली नेता मिठाराम अधिकारीले नेकपा (ओली पक्ष ) मा दरिलो अडान प्रस्तुत गर्दै अभियान थालेका छन भने काठमाडौं जिल्ला सचिवालय सदस्य विदुर विक्रम खड्का,संगम गहतराज, अनिता लामा ,लक्ष्मी संग्रौला,सुशिला सिलवाल पनि नेकपा ओली पक्षमा सक्रिय बनेका छन।
त्यस्तै नेकपा प्रचण्ड नेपाल पक्षको भेला आयोजना गर्दै बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,नेकपा नगर अध्यक्ष रबिन अधिकारी र वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले आफ्नो पक्षधरता स्पस्ट पारेका छन भने उनीहरु संगै जिल्ला सदस्यहरु धुर्वराज न्यौपाने,डम्बर अधिकारी ,उद्दव चौलागाई ,कुसुम बिक ,राजकुमार कार्की सो समुहमा सक्रिय बनेका छन।
बुढानिलकण्ठ नगरपालिकाका नेकपा नेताहरु आआफ्नो पक्षको भेला र बैठकलाई तीव्रता दिए संगै तल्लो तहका कमिटीहरुमा पनि यसको प्रभाव र तरंग पुगेको छ। निकै तरल अवस्थामा रहेको नेकपाको वर्तमान राजनीतिमा अहिले कार्यकर्ताहरुलाई प्रलोभन ,प्रभाव ,दवाव र विमर्श गर्ने क्रम तुफानी शैलीमा चलेकोले वडा तह सम्म प्रस्ट चित्र बनि नसकेको एक बुद्दिजिबि बताउछन।
त्यस्तै स्थानीय कमिटी र भूगोलका नेताहरुले ओली र प्रचण्ड माधव नेपाल पक्षमा खुलेर सक्रियता देखाए संगै स्थानीय तहका जनप्रतिनिधिहरु पनि आफ्नो पक्ष स्पस्ट गर्ने दवावमा परेका छन।
स्थानीय तहका नेताहरुले नेकपाका दुई पक्षमा अभियान शुरु गरे संगै नेकपा ओली पक्षमा सक्रिय बनेका नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोलले बुढानिलकण्ठ नगरपालिकाका ९५ प्रतिसत भन्दा बढी जनप्रतिनिधि प्रधानमन्त्री ओलीको पक्षमा रहेको दावी गरेका छन।