‘संमृद्ध नेपालः खुशी नेपाली’को नारा सफल बनाउन काठमाडौं महानगरको काम उल्लेख्य : उपप्रधानमन्त्री पोखरेल

कपन अनलाइन
काठमाडौं ,मंसिर ३०।
काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ । आज उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ  ।
स्पेसिफिकेशन बमोजिम ७ करोड ५० लाख रुपैयाँ बराबरको १ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिने अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अब खरिद गरिने मेसिनबाट उच्च गुणस्तीयर र परिस्कृत रिपोर्ट प्राप्त भई सर्वसुलभ सेवा दिन सकिने छ ।
हस्ताक्षरपछि सम्वोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘संमृद्ध नेपालः खुशी नेपाली’को नारालाई पूरा गर्न स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन महत्वपूर्ण रहेको भन्दै साझेदारीको हिसावले महानगरपालिकाले गरेको काम उल्लेख्य भएको बताएका थिए।
‘स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्छ भनेका छौँ । तर सरकारी अस्पताल सवल हुन सकेका छैनन्,’ उनले भने , ‘नीजिले अनुचित ढंगले सेवा दिएको गुनासो जनस्तरबाट आउने गरेको छ । त्यसैले नीतिगत, संरचना, योजान र कार्यक्रममा सुधार गरेर अघि बढ्नुको अर्को विकल्प छैन ।’
कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिकाले स्वास्थ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारको क्षेत्रभित्र पर्ने भए पनि महानगरले विभिन्न निकायसँग सहकार्य गरेर अघि बढेको बताएका थिए।
 ‘यी अस्पतालबाट देशभरीका नगरिकले सेवा पाउनुपर्छ र सेवा दिइरहेका पनि छन्,’ शाक्यले भने , ‘यस्ता सबै कुरालाई ध्यानमा राखेर काठमाठौँ महानगरपालिकाले ती अस्पतालको सेवा विस्तारमा सहकार्य गर्दै आएको छ ।’ शाक्यले अहिलेसम्म महानगरपालिकाले मात्रै करीब ३५ हजारको स्वाब संकलन गरेको पनि जानकारी दिएका छन  ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. दिव्या सिंह शाहले आधुनिक चिकित्सा विज्ञानमा सिटी स्क्यान नभइ नहुने हतियार भएको भन्दै काठमाडौँ महानगरले गरेको सहयोग अतुलनीय भएको बताएकी छन  ।
कार्यक्रममा कार्यकारी निर्देशक काफ्लेले आकस्मिक सेवा कक्षको सिटी स्क्यान मेसिन १ वर्ष अघिदेखि कम नलाग्ने गरी बिग्रिएको कारण सेवामा असहजता भैरहेको स्मरण गराएका थिए  ।
‘हाल केही समयदेखि अस्पतालमा सेवा लिन आउने नन कोभिड विरामीको संङ्ख्यामा समेत कमी भई आन्दामीको श्रोत घट्दै गएकाले आफ्नै स्रोतबाट नयाँ सिटी स्क्यान मेसिन खरिद गरी सञ्चालनमा ल्याउन कठिनाई भैरहेको अवस्थामा विरामीलाई छिटोछरितो सेवा प्रवाहका लागि महानगरपालिकाले गरेको सहयोग उल्लेख्य छ,’ उनले भने, ‘यो खुशीको दिन हो । अझ खरिद प्रक्रिया सम्पन्न गरी जडान गरी सेवा सुरु गरेका दिनको खुशीको प्रतिक्षामा छौँ ।’
तपाइँको प्रतिक्रिया ।