तेस्रो राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,मंसिर १५।

खेल, खेलाडी, संघ र यस क्षेत्रको जिम्मेवारी तथा कर्तब्यमा केन्द्रित रहेर राष्ट्रिय अथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतीसँगै नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार सम्पन्न भएको छ । भर्चुअल आयोजना भएको कार्यक्रममा विज्ञले गरेको प्रस्तुतीमा छलफल पनि भएको थियो । खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई ओलम्पिक अभियान र ओलम्पिक भ्यालुज तथा खेलसंग सम्बन्धित गतिविधिबारे जानकारी दिन यस्तो कार्यक्रम हुने गरेको छ ।

कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आफ्नो प्रस्तुती पेस गरेका थिए  । त्यस अवसरमा परेराले ओलम्पिक मूल्य र मान्यताबारे सजगता ल्याउन विद्यालय स्तरमा कार्यक्रम चलाउन आवश्यक रहेको बताए  ।

यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन र्‍युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्ने क्रममा अहिलेको समयमा वातावरणको विषय सबैभन्दा गहन भएको बताउँदै यसबारे सहजगता जगाउन खेल क्षेत्रले सबैभन्दा बढी भूमिका खेल्नु पर्ने बताएका थिए  । उहाँले अब विश्व खेलकुदका लागि वातावरण उत्तिकै महत्त्वको मुद्दा भएको बताए  ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’ र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र मार्केटिङ’, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो प्रस्तुती दिएका थिए  । यस्तै राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७७’ बारे प्रकाश पारेका थिए  ।

कार्यक्रमको सुरुमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत गर्नु भएको थियो । कार्यक्रम नागरिक, उड्डयन तथा संस्कृति मन्त्री योगेश भट्टराईको प्रमुख अतिथिमा भएको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली खेलकुदका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताउनु हुँदै अब नेपाली खेलकुदका प्रतियोगिता आयोजना सुरु हुने बताए  । उनले त्यसका लागि दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको बताएका छन  ।

यस्तै कार्यक्रमको अन्त्यमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले कार्यक्रममा सहभागीले यसबाट पर्याप्त जानकारी प्राप्त गर्न सकेको बताउनु भयो । उहाँले चाँडै हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबारे पनि जानकारी दिएका थिए  । कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज बैद्यले कार्यक्रम चलाउनु भएको थियो । कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण पदक दिलाउने १३ संघलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।