लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु
कपन अनलाइन
काठमाडौं ,मंसिर १०।
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान आज बाट शुरु भएको छ ।हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म संचालन हुने अभियानको यस वर्षको अन्तरास्ट्रिय नारा Orange the world: Fund, Respond, Prevent ,Collect रहेको छ भने रास्ट्रिय नारा लैंगिक हिँसा अन्त्यको प्रतिवदत्ता,व्यक्ति ,समाज र सबैको प्रतिवदत्ता तय गरिएको छ।
सन् १९८१ नोभेम्बर २५ मा ल्याटिन अमेरिकामा पहिलो पटक पहिलो पटक मनाउन शुरु गरिएको यो दिवसलाई संयुक्त रास्ट्र संघले सन् १९९९ डिसेम्बर १७ मा महिला विरुद्ध हुने हिंसा उन्मुलन दिवसका रुपमा सर्व सम्मत रुपमा पारित गरेको थियो।
महिला विरुद्ध हुने हिंसा उन्मुलन दिवस कसरि स्थापना भयो ?
विश्व भर विभिन्न कार्यक्रमहरु आयोजनामनाइने १६ दिने अभियानकाको शुरुवात १९९९ बाट भए पनि यसको स्थापनाको ऐतिहासिक पक्ष भने सन् १९६० बाट शुरु भएको हो।
यो दिवसको स्थापना डोमिनिकन रिपब्लिकका तिन जना दिदि बहिनिहरु र उनीहरुको हत्या संग जोडिएको छ। सो देशका पेट्रीया,मिनर्भा र मारियाले स्वतन्त्रता र अधिकारका लागि गरेको आन्दोलन र उनीहरु माथि राज्यले गरेको दमन र हत्यालाई स्मरण गर्दै महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि यो दिवस मनाइदै आएको छ।
ति तिन दिदि बहिनिलाई डोमिनिकन रिपब्लिकका तत्कालिन त्रुजिलो तानाशाहले निरङ्कुश सरकार विरुद्ध आयोजना गरिएको भेला माथि हस्तक्षेप गर्दै पक्राउ गरेको थियो। पटक पटक जेल पर्दा पनि निरंकुस शासक विरुद्ध निरन्तर लड्दै आएका उनीहरुलाई पक्राउ परेको ११ महिना पछि नोभेम्बर महिनाको २५ तारिकका दिन हत्या गरिएको थियो।उनीहरुको हत्या भएको १ वर्ष नबित्दै त्यहाको निरंकुस सत्ता ढलेको थियो।
धेरै कथा ,गीत ,नाटक ,कविता र लेखहरुमा सजिएका ति तिन दिदि बहिनिहरुका योगदानका गाथाहरु १९९९ मा संयुक्त रास्ट्र संघमा पुगेको थियो। डोमिनिकन रिपब्लिक सहित ७४ रास्ट्रले सो दिनलाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउन गरेको प्रस्ताव डिसेम्बर १७ मा पारित गरिएको थियो।
१६ दिने अभियान अन्तर्गत पर्ने अन्य दिवसहरु :
नोभेम्बर २५ बाट शुरु हुने यस अभियानको १६ दिन भित्र अन्य महत्वपूर्ण दिवसहरु पनि मनाइने गरिएको छ। यस अभियान अन्तर्गत नोभेम्बर २९ मा महिला मानव अधिकार रक्षक दिवस,डिसेम्बर १ मा विश्व एड्स दिवस ,डिसेम्बर ३ मा विश्व अपांगता दिवस ,डिसेम्बर १० विश्व मानव अधिकार दिवस र डिसेम्बर ६ मा क्यानाडामा १४ जना मानव अधिकारकर्मिको हत्याको सम्झनामा विभिन्न कार्यक्रम गरिने गरिएको छ।
फोटो सौजन्य :धादिङ संचार