बसपार्क बिहिन बुढानिलकण्ठ र नगर प्रमुखको प्रयासमा तंगारो
कपन अनलाइन
काठमाडौं ,कार्तिक २२।
बुढानिलकण्ठ नगरपालिकामा बसपार्क निर्माणको बहस पुन शुरु भएको छ।धेरै नियमित रुटमा सवारी साधनहरुको यातायात सेवा रहेको नगरपालिकाभित्र अहिले सम्म एउटा पनि बसपार्क नरहेको अवस्थामा यसको निर्माणका वारेमा बहस शुरु भएको छ। अहिले बुढानिलकण्ठ नगरपालिकाका धेरै यातायात समितिहरुका सवारी साधन केहि भाडाको जग्गामा पार्किंग गर्ने गरिएका छन भने अधिकांश स्थानमा सार्वजनिक सडकलाई नै बसपार्क बनाइएको छ।
कुनै पनि विकसित र पूर्वाधार सम्पन्न शहरको महत्वपूर्ण पूर्वाधार मध्ये एक मानिन्छ बसपार्क। यातायातहरुको नियमित संचालन , नियमन र नियन्त्रणका लागि एकिकृत बसपार्कको आवस्यकतालाई ध्यानमा राखेर यसको सम्भाव्यता खोज्नुपर्ने देखिन्छ।
बुढानिलकण्ठ नगरपालिकामा मन्दिर क्षेत्रमा,धोवीखोला कोरिडोर,पैयाटार ,सुन्दर बस्ती ,सगरमाथा चोक, ह्यान्डबल ,नवदुर्गा चोक ,कृष्ण मन्दिर ,चुनिखेल चुनदेवी मन्दिर क्षेत्र , जगडोल भन्ज्याङ,सिद्देश्वर मन्दिर क्षेत्र ,राममन्दिर लगायतका क्षेत्रमा सडकलाई नै बसपार्कको रुपमा प्रयोग गरिदै आइएको छ।
यसरि सार्वजनिक सडकलाई नै पार्किंगका रुपमा प्रयोग गरिंदा दुर्घटना बढ्नुका साथै विभिन्न घटनाहरु पनि हुदै आएको बसपार्क क्षेत्रमा रहेका स्थानीयहरुले बताएका छन।ठुलो आवाज र अनियन्त्रित रुपमा सडक मै गाडी पार्किंग गर्दा धेरै पटक झैँ झगडा र वादविवादको सामना गर्नुपर्ने बाध्यतामा रहेको बताउदै ति स्थानीयहरुले सुविधा लिने नाममा धेरै कस्ट भोग्नु परिरहेको गुनासो गरेका छन।
आफ्नो लाखौको सम्पत्तिलाई सडकमा बेवारिसे जस्तै पार्किंग गर्नुपर्दा निकै जोखिम हुने एक व्यवसायीले बताए। सरकारलाई मापदण्ड बमोजिम कर तिर्दा पनि थप भाडा तिरेर पार्किंग गर्नुपर्ने बाध्यतालाई स्थानिय सरकारले बुझ्नुपर्ने भन्दै उनले एकीकृत सेवा सहितको बसपार्क निर्माण हुन् सके व्यवसायीलाई राहत पुग्ने धारणा राखेका छन।
उचित स्थान छनौट गरेर बसपार्क निर्माण नगरिंदा सार्वजनिक यातायातका कर्मचारी ,व्यवसायी र स्थानीयहरु बीच बिभिन्न स्थानमा समस्या परेको बताउदै एक जनप्रतिनिधिले केहि स्थानमा त् विवाद मिलाउने क्रममा उल्टै जनप्रतिनिधि माथि नै दुर्व्यवहार भएको जानकारी दिएका छन।
नगर प्रमुखको बसपार्क निर्माण प्रयासमा तंगारो
बुढानिलकण्ठ नगरपालिकामा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर प्रमुख उद्दव खरेलले प्रयास शुरु गरेता पनि उनि त्यसमा अझै सफल बन्न सकेका छैनन। बुढानिलकण्ठमा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर प्रमुख खरेलको रोजाइमा परेको स्थान थियो प्रयोग बिहिन अवस्थामा रहेको बुढानिलकण्ठ स्कुल भित्रको सार्वजनिक जग्गा।
आफ्नो नगरपालिका भित्र रहेको सो स्थानमा व्यवस्थित र सुविधा सम्पन्न बसपार्क निर्माणका लागे प्रारम्भिक छलफल चलाएका प्रमुख खरेलको पहिलो कदममा नै तंगारो हालिएको एक स्थानीयले बताए । उनको प्रयासमा स्कुल नजिक बसपार्क बनाउँदा आवाज ठुलो भएर पठन पाठनमा असर पुग्ने भन्दै वर्षौ देखि विद्यालय बाट दृश्य अदृश्य लाभ लिएका केहि व्यक्तिहरुले हल्ला चलाए पछी नगर प्रमुख पछाडी हटेको ति स्थानीयको बुझाई रहेको छ।
नगर पालिका र यातायात व्यवसायीहरु संग हुने प्रत्येक छलफलमा सबै भन्दा जोडले उठ्ने बसपार्क निर्माणको मुद्दालाई समाधानका लागि छनौटमा परेको सो स्थानमा देखिएका समस्याहरुलाई किनारा लगाउदै सो स्थानको उपयोग गर्नुपर्ने एक स्थानीय बुद्दिजिविले बताएका छन।यति महत्वपूर्ण पूर्वाधार निर्माणको बहसलाई पुन सार्वजनिक छलफलको विषय बनाउदै विद्यालयको सहभागितामा सो योजना अगाडी बढाउन नगरपालिकाले निरन्तर प्रयास गर्नुपर्ने उनको धारणा रहेको छ।
पार्क ,पर्खाल ,सडक देखि पारिवारिक वातावरण निर्माण सम्मका योजना बनाउन सक्ने वडाहरुले अहिले सम्म बसपार्कको योजनालाई नसमेटेकोमा आश्चर्य लागेको एक स्थानीय नेताले बताए। यस्तो महत्वपूर्ण विषय प्राथमिकतामा पर्नुपर्ने बताउदै उनले यसका लागि नगरपालिकाका १३ वटै वडाहरुले विशेष योजना बनाउने अपेक्षा गरेका छन।