सर्वोच्च बारले बनायो निर्वाचन समिति, राजु खडका संयोजक
कपन अनलाइन
काठमाडौं ,असोज २८।
सर्वोच्च अदालत बार एशोसिएशनको आजै सम्पन्न पूर्ण बैठकले आगामी नयांं कार्यसमितिको निर्वाचनको लागि कार्यसमितिका उपाध्यक्ष अधिवक्ता राजु खडकाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ ।
गत २०७५ साल श्रावण देखि २ वर्षको कार्यावधिसहित निर्वाचित बर्तमान कार्यसमितिले गत आषाढ महिनाभित्रैमा आगामी कार्यसमितिको लागि निर्वाचन सम्पन्न गरी श्रावण महिनाको शुरुवातसंगै कार्यभार हस्तान्तरण गरिसकेको हुनुपर्नेमा बिश्वभर महामारीको रुपमा पैmलिरहेको कोरोना भाइरस (कोबिड १९) ले नेपाललाई समेत आक्रान्त पार्दै लगेको परिप्रेक्ष्यमा नेपाल सरकारले देशभर लागु हुने गरी गत २०७६ साल चैत्र महिनादेखि नै लकडाउन गरेको र पछि केहि समयको लागि लकडाउन हटाएको अवस्था भएतापनि देशैभरी सार्वजनिक यातायात बन्द रहेको कारणले समयमै निर्वाचन गर्न अनुकुल अवस्था नरहेको तथा पछि पुनः उपत्यकाका तिनै जिल्लासहित देशका अधिकांश स्थानमा निषेध आदेश लागु भै अन्तर जिल्ला सार्वजनिक यातायात खुलिनसकेको हुंदा यसै सम्वन्धमा छलफल गर्न सर्वोच्च अदालत बार एशोसिएशनको परिषद सदस्यहरु सम्मिलित र सल्लाहकारहरु सम्मिलित छुट्टाछुट्टै बैठकले यस्तो विषम परिस्थितिमा कुनै पनि हालतमा निर्वाचनको कार्यक्रम प्रकाशित गर्न नहुने राय व्यक्त गरेका कारण नेपाल बार एशोसिएशनको बिधान बमोजिम बर्तमान कार्यसमितिले नै आफ्नो जिम्मेवारी निर्वाह गरी आएकोमा गत भाद्र २५ गतेदेखि उपत्यकाभर र गत आश्वीन १ गतेदेखि देशैभरको सार्वजनिक यातायात सुचारु गरेको कारण बर्तमान कार्यसमितिले आगामी कार्तिक २८ गतेसम्म सदस्यता नविकरण गरिसक्नुपर्ने गरी आगामी पौषको पहिलो शनिवार अर्थात पौष ४ गते निर्वाचनको तिथी तोकिएको र इश्वी सम्वतको नयांवर्षको दिन अर्थात यस वर्ष पौष १७ गते पदभार हस्तान्तरण गर्न साधारणसभाको आयोजना गर्ने निर्णय भएको कुरा बताइएको छ ।
निर्वाचन समितिमा संयोजक अधिवक्ता राजु खडकाका अलावा सदस्यहरुमा अधिवक्ता भुवनप्रसाद वाग्ले र अधिवक्ता मुरारीप्रसाद सापकोटा रहनुभएको जनाइएको छ । नवगठित निर्वाचन समितिले बर्तमान विषम परिस्थितिलाई मध्येनजर गरी कोविड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि अन्तरराष्ट्र्ीय स्तरमा तोकिएको मापदण्ड र नेपाल सरकारले बेलाबखत तोकेका मापदण्ड र प्रोटोकलसमेतको ख्याल गरी आवश्यक सावधानीका सम्पूर्ण उपायहरुको अवलम्वन गरी निर्वाचन सम्पन्न गरी पदभार हस्तान्तरण गरिने कुरा बताइएको छ ।