काठमाडौंको संकटा परिसरमा रहेको ‘क्वाःपा द्यो छेँ’ को शिलान्यास
कपन अनलाइन
काठमाडौं ,असोज १९
काठमाडौंको संकटा परिसरमा रहेको ‘क्वाःपा द्यो छेँ’ को शिलान्यास भएको छ। काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले एक कार्यक्रमका विच सो भवनको शिलान्यास गरेका हुन।
२०७२ सालको भूकम्पले जीर्ण बनेपछि यो संरचना पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेकोले पुननिर्माण ‘संकटा संरक्षण समिति’ ले ९९ लाख ३८ हजार ६२२ रुपैयाँ लागतमा गर्नेछ ।
शिलान्यास पछि संक्षिप्त प्रतिक्रिया दिदै प्रमुख शाक्यले सम्पदा बनाउने पैसा महानगर सँगै रहेकोले कसैसँग हार गुहार गर्नु नपर्ने भन्दै महानगर, स्थानीय र सम्पदाबीचको त्रिपक्षीय सम्बन्ध दिगो बनाउने विचार व्यक्त गरेका थिए।
द्यो छेँ १७ औं शताब्दीमा ठूलो आँगनसहित बहाल शैलीमा निर्माण भएको संरचना मानिन्छ । इ. सं. १९३४ मा यसको पुननिर्माण भएको अभिलेखमा देखिन्छ । बुद्ध धर्माबलम्बीले सञ्चालन गर्ने धार्मिक गतिबिधिसँग यो भवन सम्बन्धित छ । भवनभित्र र बाहिर बुद्धका बिभिन्न रुपका मूर्ति राखिएका छन् । ३ तले यो भवन नेपाली शैलीको घर हो । यसलाई मौलिक निर्माण सामाग्रीको प्रयोग गरेर बनाइनेछ ।
फोटो सौजन्य : काठमाडौं अनलाइन