ओखलढुंगा-रामपुर-लप्सेखोला सडकको दुरावस्था ,आन्दोलन गर्ने स्थानीयको चेतावनी
कपन अनलाइन
काठमाडौं ,असोज १३ ।
यो तस्विर ओखलढुंगा जिल्लाको ओखलढुंगा – रामपुर- लप्सेखोला- सडक खण्डको हो। पटक पटक यो सडक निर्माणको पहल ,सक्रियता र जागरुकता भनेर धेरै नेता तथा उनीहरुका पछौटेहरुका सामाजिक संजालका भित्तामा सजिए पनि वास्तविक अवस्था भने कुनै धान खेत भन्दा कम छैन।
ओखलढुंगा जिल्लालाई विकासको नमुना बनाउने अभियान भन्दै भाषण ठोक्ने नेताहरुले पटक पटक यात्रा गरेका उनीहरु यो सडक निर्माणको ठेक्का पाएको श्री गाैरी-पार्वती – निर्माण सेवा प्रा.लि संग निरिह र नतमस्तक झैँ बनेकोमा स्थानीयहरुले दुख व्यक्त गरेका छन।
२९ करोड ९९ लाख ६० हजार १०३ रुपैयामा ठेक्का प्राप्त गरेर २०७६ माघ १४ गते सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले सडकलाई अलपत्र छाडेर बेहाल बनाउँदा पनि कसैले यसको वारेमा छु सम्म नबोलेको देख्दा आजित बनेका स्थानियहरुले आन्दोलनको तयारी गर्ने चेतावनी समेत दिएका छन ।
यसरि जिल्लाको महत्वपूर्ण सडकलाई बेवारिसे बनाएर विकासको गतिलाई रोक्ने ठेकेदार संग कुनै पनि नेताले प्रतिवाद वा विरोध नगर्नुका पछाडी केहि छ कि ? भन्ने प्रश्न अहिले जिल्ला भरि चलेको एक शिक्षकले बताएका छन।
हजारौ जनतालाई सास्ती दिएर विभिन्न बनावाजी र कारण देखाउदै निर्माणमा ढिलाई हुनुमा कसको जिम्मेवारी हो ? यो प्रश्न अहिले ओखलढुंगा जिल्लामा व्यापक रुपमा उठेको एक समाजसेवीले बताएका छन।
पटक पटक आयोजनाको अवलोकनको नाटक मन्चन गरेर फोटो सेसन गर्नु बाहेक जनताका वर्तमान र भूपू प्रतिनिधिहरुले खास र अर्थपूर्ण काम नगरेको आरोप लगाउदै उनले अव उनीहरु संग सार्वजनिक रुपमा यसको जवाफ माग्ने तयारी गरेको बताएका छन ।