टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालमा स्तरोन्नती गर्ने बागमती प्रदेस सरकारको निर्णय
कपन अनलाइन
काठमाडौं ,भाद्र १९।
बागमती प्रदेशले टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र लागयतका अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नती गर्ने भएको छ । प्रदेश सरकारको बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका ५ अस्पतालहरुलाई स्तरोन्नती गर्न लागेको हो ।
प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाँउ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाण्डौ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले जानकारी दिएका छन । हाल बागमती प्रदेशको तेह्र जिल्ला मध्ये ८ जिल्लामा मात्र प्रदेश मातहत रहेका अस्पतालहरु सञ्चालनमा रहेका छन् ।
प्रदेशभित्रका सवै जिल्लामा प्रदेश अस्पताल स्थापना गरि कोभिड–१९ लगायतका संक्रमण रोग तथा अन्य रोगहरुको सहजतापूर्वक उपचार गर्न आवश्यक देखिएको उनले जानकारी दिए ।
प्रादेशिक अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतीमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी प्रदेश अस्पतालको रुपमा विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको थियो ।
यसैगरी कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष निर्बाचित सांसदको नेतृत्वमा, समानुपातिक सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखहरु रहने गरी अनुगमन, सहजीकरण र समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताएका छन ।