स्वास्थ्य सामाग्री सहित संक्रमितको घरघरमा पुगे बुढानिलकण्ठका जनप्रतिनिधि
कपन अनलाइन
काठमाडौं ,भाद्र काठमाडौं , भाद्र १८ ।निशा बराल / शिरिष पौडेल
बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुले संक्रमितको घरघरमा पुगेर स्वास्थ्य सामाग्री र प्रोत्साहन रकम वितरण कार्य सुरु भएसँगै नगर प्रमुख उद्दव खरेल संगै वडा नं २ का जनप्रतिनिधिहरु संक्रमितको घरघरमा पुगेका छन् ।
बुढानिलकण्ठका नगर प्रमुख उद्दव खरेल , वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्का , वडा सदस्य राजेन्द्र श्रेष्ठ , वडा सदस्य ज्ञानु कार्की , वडा सदस्य अनिता मिजार र स्वास्थ्यकर्मी लगायतको टोली वडा नं २ को विभिन्न स्थानमा होम आइसोलेशनमा बसेका संक्रमितको घरघरमा पुगेर आवश्यक स्वास्थ्य र मनोवैज्ञानिक परामर्श , स्वास्थ्य सामाग्री तथा उनीहरुको लागी सन्तुलित र पौष्टिक भोजनका लागी रकम वितरण गरेका छन् ।
यससँगै नगरपालिकाले संक्रमितको अवस्थाको प्रारम्भिक अनुगमनका लागी चेक लिष्ट तयार पारेर डाटा संकलन पनि गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार संक्रमितहरुको मनोवल बढाउने तथा उनीहरुलाई आवस्यक सहयोग गर्ने क्रमलाई नगरपालिकाका सबै वडामा लैजाने काम शुरु गरेको हो ।
हाल बु.न.पा २ मा १६ जना होम आइसोलेशनमा छन् । यस नगरपालिका ले सन्तुलित र पौष्टिक भोजनका लागी दिइने खर्च अनुरुप परिवारमा १ जना मात्र संक्रमित भएकोलाई रु ४००० , एकजना भन्दा बेसी संक्रमित भएको परिवारलाई एकमुष्ट रु ६००० र संक्रमितको सहयोगीलाई २००० दिने व्यवस्था गरेको छ ।
संक्रमित सँगको कुराकानीमा , धेरैजनाको स्वास्थ्य स्थिति बलियो नै रहेको र हाल सम्म कुनै लक्षण नदेखिएको पाइएको छ । आफु भाईरस बाट संक्रमित भएपनि आत्मबल नगुमाएको र अरुलाई संक्रमण नसरोस भनेर आफु घरमा नै सुरक्षित रुपले बसिरहेको उनीहरुले जानकारी दिएका छन् ।
भेटको क्रममा नगर प्रमुख खरेलले संक्रमितलाई पत्रको मार्फत स्वास्थ्य लाभको कामना गर्दै कुनै पनि सुचना वा आपतकालीन सेवाका लागि तत्काल जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
(निशा बराल / शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )