चन्द्रागिरी १ दहचोकमा मनाइने इन्द्रजात्रा/ इन्द्र दह स्नान मेला बिधि पुजामा सिमित
कपन अनलाइन
काठमाडौं भाद्र १७ । चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकमा प्रत्येक वर्ष भाद्र शुक्ल पुर्णिमाको दिन मनाइदै आएको इन्द्रजात्र/ इन्द्र दह स्नान मेला यस वर्ष नियमित बिधि पुजामा मात्र सिमित भएको छ।काठमाडौ जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला कोरोनाका कारण प्रभावित भएको हो ।
काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोक सय गन्तब्य भित्रको इन्द्रदह/काजी कालु पांडे समाधिस्थल क्षेत्रमा परापुर्वकाल देखि भाद्र शुक्ल पुर्णिमाका दिन मनाइदै आएको इन्द्रजात्रा /इन्द्र दह स्नान मेला कोरोना भाइरस कोभिड १९ संक्रमणका कारणले हाल नेपाल सरकारले जारि गरेको निषेधाज्ञा र संक्रमणको जोखिमलाइ मध्यनजर राख्दै इन्द्रजात्रा/ इन्द्र दह स्नान मेला संचालन नगर्ने निर्णय वडा कार्यालयले निर्णय गरेको थियो ।
प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्रदह स्नानका लागि भक्तजनको घुइँचो लाग्ने उक्त स्थानमा यसवर्ष कोरोनाभाईरसको कारण संक्रमण फैलिन सक्ने भएकोले मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिको वडा नं १ का वडा अध्यक्ष राजेन्द्र के.सीले कपन अनलाइन लाइ जानकारी गराए।
इन्द्रदहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास अनुसार प्रत्येक बर्ष मेला लाग्ने गरेको भन्दै वडा अध्यक्ष केसीले पूर्णिमाको दिन इन्द्रदहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्र र इन्द्रायणीको दर्शन गर्नाले जन्म जन्मको पाप नाश हुने जनविश्वास रहेको बताए ।
उक्त स्थानमा इन्द्रले आफ्नी माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको समयमा दहमा स्नान गरेको किंवदन्ती रहेको र सोही समय देखि त्यहा जात्रा मनाउन थालिएको भन्दै उनले हरेक बर्ष भाद्र शुक्ल पूर्णिमामा मेला लाग्ने गरेकोमा यसवर्ष भने कोरोनाका कारण रोकिएको बताए ।
मेला रोकिए पनि नियमित पुजा भने गरिएको उनले बताए। अहिले उक्त क्षेत्रमा धेरै विकासका पूर्वाधारहरु निर्माण गरिएको छ । करीब २०० रोपनीे फैलिएको साँस्कृतिक महत्व बोकेको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार भ्यूटावर, बहुउद्देश्यीय भवन लगायत पूर्वाधार निर्माण शुरु गरिएको छ।