तारकेश्वर- ५ गोलढुंगामा स्थानीयको कुटाई बाट मृत्यु भएका युवाका आफन्त आन्दोलित
कपन अनलाइन
काठमाडौं ,साउन ३।
स्थानीयले निर्घात कुटपिट गर्दा काठमाडौँको तारकेश्वर नगरपालिका ५ गोलढुंगामा एक युवाको मृत्यु भएपछि मृतकका आफन्तले शनिबार महानगरीय प्रहरी वृत्त बालाजुमा धर्ना दिएका छन् ।
होहल्ला गरेको भन्दै बिहीबार राति स्थानीयले रसुवा घर भई कपुरधारामा डेरा गरी बस्ने २४ वर्षीय छिरिङ तामाङलाई निर्धात कुटपिट गरेका थिए । कुटपिटको कारण गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको थियो । कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने भन्दै मृतकका आफन्तहरू बालाजु चौकी पुगेका थिए ।
मृतकका आफन्तहरूले राती डेरामा फर्कँदै गर्दा भएको सामान्य विवादमा स्थानीयले नियन्त्रणमा लिएर निर्धात कुटपिट गरेको र मृत्यु भएको आरोप लगाएका छन् । राति बाटोमा हिँड्दै गर्दा स्थानीय कृष्णबहादुर श्रेष्ठको घर अगाडी कुकुरले भुकेको र भुक्दै गरेको कुकुरलाई उनीहरूले होहल्ला गर्दै ढुङ्गा प्रहार गर्न थालेपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ ।