सत्ता सुन्दरी : त्रिलोचन आचार्य (कविता )

सत्ता सुन्दरी : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं ,साउन ३।
कति सुन्दर त्यो अनुहार अहो !
व्यवहार झनै दिलदार अहो !
झलमल्ल सधैँ छ मुहार अहो !
कति चल्छ बहार, अपार अहो ! ।१।

कति भव्य छ त्यो दरबार अहो !
कति चम्चम त्यो तरबार अहो !
भरिपूर्ण सधैँ घरबार अहो !
जग भन्छ जदौ सरकार अहो ! ।२।

दुःख छैन नि ! स्वर्ग त्यतै छ अहो !
सब भौतिक सुख्ख त्यतै छ अहो !
किन कुर्नु ? स–गर्व म धाउँछु त्यैँ
गर हार्दिक स्वागत आउँछु त्यैँ ।३।

मन थाम्न सकिन्न बसेर परै
अति प्रेम बढ्यो कि रहेन डरै
बरु बग्नु बगोस् जनको रगतै
म रहन्न यता, अब आउँछु है ।४।

प्रिय साथ रही अब नाच्न मिलोस्
अब एक बनीकन बाँच्न मिलोस्
जब बस्दछु भैकन माथि म ता
प्रतिरोध विरोध हुने छ कता ? ।५।

छु म योग्य सुयोग्य समुच्चभरि
भन ढुक्क दिँदैछु म त्यो पगरी
जति बोल्दछु त्यो सब कानुन होस्
जति छुन्छु म ता सुन नै सुन होस् ।६।
सब सुन्दरता छ छ त्यैँ छ सबै
सब मोहकता छ छ त्यैँ छ अझै
पर बस्नु कता म ? संहाल सखे
भर प्रेम सुधा र अँगाल सखे ।७।

घर भुल्छु तिमीसँग बस्न मिले
डर भुल्छु तिमीसँग हाँस्न मिले
सब मख्ख परे किन मोहित भै ?
अब अर्थ बुझेँ, म त जान्न कतै ।८।
सब मान त्यतै छ कता म फसूँ ?

सब ज्ञान त्यतै छ कता म पसूँ ?
सब ध्यान त्यतै छ कता म बसूँ ?
जय गान त्यतै छ यता नबसूँ ? ।९।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।