९१ हजार भारुसहित एक जना पक्राउ
कपन अनलाइन
काठमाडौं ,असार १७।
पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनी नेतृत्वको टोलीले अलौ भन्सारबाट पोखरीया नगरपालिका-२ लमरिया निवासी २८ वर्षीय मनोज यादवलाई पक्राऊ गरेको हो । ना १५ प ५८३८ नम्बरको मोटरसाइकलमा सवार उनको झोला चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले ९१ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।
ड्युटी खटिएकाे सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा भिड नगर्नु भनी यादव लगायतका व्यक्तिहरुलाई भनेको भएपनि यादवले भारतबाट मानिस आउँदैछ भेटेर फर्किहाल्छु भनेर सशस्त्र प्रहरीसँग अनुरोध गरेका थिए । पोखरियादेखि आफन्त भेट्न आएका उनलाई धेरै अलमल नगर्नु भनेर जान सशस्त्र प्रहरीले अनुमति दिएको थियो । तर केहिबेरपछि झोला बोकेर फर्किएपछि चेकजाँच गर्दा उनको साथबाट ५/५ सयको १ सय ८२ थान भारु नाेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
यादवले भने घरायसी कामका लागि भारतमा रहेका आफन्तसँग ऋण सापटी लिएको दाबी गरेका छन् । बरामद रकम र उनले प्रयोग गरेको मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।