असार : रिता दाहाल (कविता )
कपन अनलाइन
काठमाडौं ,असार १७।
धुलो हटाउन पानी बनिकन आउँछ असार
मानो खाई मुरी उब्जाउ भनिकन आउँछ असार
महलमा बसेर मैहुँ भन्नेलाई केथाहा हुन्छ र हजुर
गरिबको वर्ष दिनको खाना बनि आउँछ असार।।
मुखिया र जमदारको सान बनि आउँछ असार
मसिरमा धान बन्न धाम बनि आउँछ असार
चैत बैशाखको खडेरी लाई के थाहा हुन्छ र हजुर
खेती लाउन पानी को मुहान बनि आउँछ असार।।
हलि बाउसे रोपारेको चटारो बनि आउँछ असार
धान रोपाइँ सकाउन हतारो बनि आउँछ असार
गरिबी हटाउँछु भन्नेलाई के थाहा हुन्छ र हजुर
मकै पाके अनिकालको झट्टारो बनि आउँछ असार।।
कोइली ले कुहु गर्न थाकेपछि आउँछ असार
पालुवाले रुखका पात ढाकेपछि आउँछ असार
वनका गिटठा भ्याकुर ला ई के थाहा हुन्छ र
फल फुलको राजा आँप पाकेपछि आउँछ असार।।
तपाइँको प्रतिक्रिया ।