काठमाडौं महानगरपालिकाले फुटपाथलाई व्यवस्थित गर्ने
कपन अनलाइन
काठमाडौं ,असार ४।
कोभिड–१९ को प्रभाव लामो समयसम्म रहनसक्ने अनुमानलाई ध्यानमा राखी आम नागरिकको दैनिक आवागमनमा भौतिक दूरी कायम राखी सहजता प्रदान गर्न मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ ब्यबस्थित तथा चौडा गर्ने नीति काठमाडौं महानगरपालिकाले लिएको छ ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा त्यसका लागि वडा कार्यालयको सक्रियतामा स्थानीय प्रशासनको सहकार्यमा फुटपाथ अतिक्रमण गर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गरिनेछ उल्लेख गरिएको छ । ‘भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साईकल भएको हुँदा महानगरवासीलाई साईकल प्रयोग गर्न प्रोत्साहन गरिनेछ ।
महानगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई साईकल खरिदमा अनुदान दिने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘महानगरको आफ्नै स्वामित्वमा रहेको जग्गा (धर्मपथ, टेकु) तथा लैनचौरमा रहेको सार्वजनिक जग्गामा आधुनिक भर्टिकल पार्किङ्ग भवन निर्माण कार्य यसै वर्ष शुरु गरिनेछ । महानगरले हाल लागु गरेको स्मार्ट पार्किङ्गलाई थप क्षेत्रमा समेत विस्तार गरिनेछ ।’
रानीपोखरी र खुलामञ्च बीच तथा तिलगङ्गाबाट पशुपति क्षेत्र जोड्ने अण्डरपास, सोह्रखुट्टे –खुशिंबुँ–नयाँबजार चोक, मित्रपार्क चोक, चाबहिल बौद्ध खण्डमा आकाशेपुल, त्रिपुरेश्वरबाट सानेपा जोड्ने नयाँपुलदेखि टेकु कालिमाटीसम्म बागमती किनारामा फ्लाईओभर तथा अन्य संभाब्य स्थानहरुमा फ्लाईओभर, अण्डरपास तथा पूर्वाधारको संभाव्यता अध्ययन, डिजाइन तथा निर्माण गर्न सम्बन्धित संस्थासँग समन्वय तथा सहकार्य गर्ने कुरालाई पनि महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरेको छ ।