पसल खोल्न पाउनुपर्ने माग गर्दै जोरपाटीका ब्यावसायी आन्दोलित
कपन अनलाइन
काठमाडौं जेठ २१। लगातारको लकडाउनका कारण व्यवसाय चौपट भएको भएको भन्दै जोरपाटीका व्यापारीहरुले मंगलबार जबरजस्ती पसल खोलेपछि प्रहरीसँग विवाद भएको थियो ।लगातारको लकडलाउन बाट आजित भएका व्यापारीहरु स्वस्फुर्त पसल खोल्न उत्रिएका थिए। मोबाइलदेखि, जुत्ता, फेन्सी लगायतका पसल खुला गरेर व्यापार गर्न थालेपछि प्रहरीले बन्द गर्न अनुरोध गर्दा व्यापारीहरु त्यसको विरुद्धमा उत्रिएका थिए । ब्यापारीहरुले पसलको भाडा तिरिरहनुपर्ने, सरकारलाई कर पनि तिरिरहनु पर्ने तर पसल चाहिँ खोल्न किन नपाउने भन्दै प्रश्न गरेका थिए।
७१ दिन लगातार लकडाउन लम्ब्याउने बाहेक सरकारले कुनै योजना अगाडि सार्न नसकेको र सरकारले कर चुक्ता गर्न सूचना जारी गरेको प्रति उनीहरुको आकोश रहेको रहेको थियो ।पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले लखेटेको थियो । त्यसक्रममा पसल बन्द गर्न अटेर गर्ने एक जनालाई केहीबेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए ।कार्कीले भने, ‘लकडाउन उल्लंघन गरेकाले नियन्त्रणमा लिएका थियौं, अहिले छाडिसकेका छौं ।’
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे लगायतसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका थिए । छलफलका क्रममा नगरपालिकाले पसल खोल्ने वातावरणका लागि पहल गर्ने आश्वसन दिएको छ ।नगरका प्रशासकीय अधिकृत नरहरि घिमिरे भने यो विषयमा निर्णय गर्ने अधिकार नगरपालिकासँग नभएको बताए । ‘हामीले पनि यसमा केही गर्न सक्ने अवस्था छैन, केन्द्रबाटै नयाँ निर्णयको पर्खाइमा छौं’, उनले भने ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपालमा लकडाउनको घोषणा गरेको ७१ दिन भइसकेको छ । र, यो अवधिसम्म आइपुग्दा लकडाउनले बाँच्न समेत मुस्किल हुन थालेको भन्दै खुकुलो पार्न जनस्तरबाट माग हुँदै आएको छ ।सरकारले भने लकडाउनलाई ३२ जेठसम्म बढाउने निर्णय गरिसकेको छ । यद्यपि, सरकारले निर्णयलाई थप व्याख्या गरेर केही स्थानमा लकडाउन खुकुलो बनाउन सकिने बारे छलफल गरिरहेको छ ।
फोटो : गोकर्णेश्वर खबर