नेपाल मेडिकल कलेजका चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग
कपन अनलाइन
काठमाडौं,जेठ१५।नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलमा कार्यरत २ चिकित्सकमाथि हातपात भएको छ।बुधबार बिहान नेपाल मेडिकल कलेज जोरपाटीमा उपचाररत ६४ वर्षीय महिलाको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि तिनका आफन्तले लापरबाहीबाट घटना हुन पुगेको भन्दै २ चिकित्सकमाथि हातपात गरेका थिए । उक्त घटना पश्चात चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
संघले बुधबार विज्ञप्ति जारी गर्दै घटनाका दोषीमाथि कारबाही गर्न माग गरेको हो ।कोभिड–१९ रोकथाम, नियण्त्रण र उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेर मनोबल गिराउने काम गरिएको भन्दै संघले अस्पताललाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेको छ ।
‘संवेदनशील र विषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरू युद्ध मैदानबाट फिर्ता हुने अवस्था निम्त्याउनका लागि दोषीउपर कानूनी कारबाही गर्न तथा स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रूपमा घोषणा गर्न जोडदार माग गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।