संकटमा समाजसेवामा सक्रिय सहयोगी हातहरु
कपन अनलाइन
काठमाडौं ,वैशाख २१।
राजधानीका विभिन्न ठाउँमा लक डाउनका कारण चरम समस्यामा परेका सबै खाले वर्गलाई लक्षित गरेर व्यवस्थित तथा सुरक्षीत तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ ।
यसै क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८, ९ र का.म.न.पा ६ का बिभिन्न संघ संस्थाहरुको सहयोगमा निशुल्क प्याकिंग भोजन वितरण गरिएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरेसँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि बैशाख ९ गते बाट खानाको प्याकेट वितरण गरिएको हो ।
स्थानीय स्पोर्ट्स स्पेसल क्लब, बृहस्पति मार्गटोल विकास समाज, आरूबारी डाँडागाउँ टोल सुधार समिति, आनन्दपुर महिला समाज,गोकर्णेश्वर सेवा समाज, आनन्दपुर आरूबारी टोल बासीहरू तथा अन्य सहयोगी दाताहरूको सहयोगमा निशुल्क प्याकिङ भोजन बैशाख ९ बाट वितरण गरिएको युवा समाजसेवी तथा आरुबारी डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले बताउनु भयो ।
उनले कुनै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू काम नभएर माम नपाउने अवस्था नआओस् भन्ने सोचले प्रत्येक दिन बिहान ११ बजे देखि १२ बजे सम्म र बेलुका ६ बजे देखि ७ बजे सम्म उक्त निशुल्क प्याकिंग भोजन वितरण गरिरहेको बताए ।
बैशाख ९ गते देखि दैनिक बिहान ५०० जनालाई र बेलुका ५०० जनालाई टोकन सिस्टम गरि सामाजिक दुरी कायम गरि निशुल्क खाना लिन आउनु हुने प्रत्येक दाजुभाइ तथा दिदिबहिनीहरूको शरीरक तापक्रम जाँच्ने, लाइनमा सबैलाई अनिवार्य माक्स लगाउन लाउने र ह्यान्ड सेनिटाइजर लगाएर मात्रै निस्शुल्क खाना वितरण गरिएको जानकारी दिएका छन ।
स्पोर्ट्स स्पेसल क्लवका अध्यक्ष अनिल देवकोटाले सबै संघ संस्था तथा टोलबासीहरूसँग मिलेर लक डाउनको अवधिभर निशुल्क खाना वितरणलाई निरन्तरता दिने तथा एक किलोमिटर वरिपरिका शारीरिक अपांगता भएकाहरूलाई घरमा नै बिहान बेलुका पठाउने व्यवस्था गरेको बताउनुभयो । वृहस्पति मार्ग टोल सुधार समितिका अध्यक्ष बलिन्द्र लामाले ५ वटा विभिन्न सामाजिक संस्थाहरू एकजुट भएर ,समाजमा धेरै कामहरू गर्न सकिएको बताए ।