इन्स्पेक्टरकी श्रीमती जिस्क्याउँदा मेयरका स्वकीय दिनभर प्रहरी हिरासतमा

इन्स्पेक्टरकी श्रीमती जिस्क्याउँदा मेयरका स्वकीय दिनभर प्रहरी हिरासतमा

कपन अनलाइन

विराटनगर ,बैशाख ४।

प्रहरी इन्स्पेक्टरकी श्रीमती जिस्क्याएको आरोपमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका स्वकीय सचिव त्रिभुषण गिरी दिनभर प्रहरी हिरासतमा थुनिनुपरेको छ ।

इलाका प्रहरी कार्यालय बेलवारीका इन्चार्ज इन्स्पेक्टर गुणराज बुढाथोकीकी श्रीमतीलाई जिस्क्याएको आरोपमा गिरीले बुधबार दिनभरि बेलबारी प्रहरीको हिरासतमा थुनिनुपरेको हो । विराटनगर बस्दै आएका गिरीले प्रहरीको श्रीमती जिस्क्याएको मौखिक उजुरी प्रहरीमा परेको थियो । त्यसबारे पहिले वडा प्रहरी कार्यालय विराटनगरमा प्रहरी र गिरीबीच छलफल भएको थियो ।

थप छलफलका लागि इलाका प्रहरी बेलबारीले गिरीलाई बोलाएपछि उनी बुधबार दिउँसो बेलबारी पुगेका थिए । आफै  छलफलका लागि पुगेका उनलाई इप्रका बेलबारीले दिनभरि हिरासतमा राखेर साँझ मात्र रोहवरमा छाडेको थियो । प्रहरी स्रोतका अनुसार गिरीले विराटनगर महानगर बस्दै आएकी एक प्रहरी अधिकृतको श्रीमतीलाई सामाजिक सञ्जालको म्यासेन्जरमार्फत जिस्क्याएका थिए ।

आफूलाई जिस्क्याएको ती महिलाले म्यासेजको स्क्रिन सट देखाएपछि गिरीलाई बेलबारीका इन्स्पेक्टर बुढाथोकीले छलफलका लागि बोलाएका थिए । दिनभरि हिरासतमा राखेका गिरीलाई नेपाली कांग्रेसका पहुँचवाला जिल्ला नेता नागेश कोइरालाको रोहवरमा आइन्दा गल्ती नगर्ने सर्तमा साँझ प्रहरीले छाडेको थियो ।

गिरीले भने आफूमाथि लागेको आरोप निराधार भएको बताएका छन् । बुधबार बेलबारी प्रहरीले बोलाएपछि आफैं गएको बताउँदै उनले समस्या सामधान भइसकेको दाबी गरे । उनले आफ्नो इस्टाग्रामको आइडी कसैले दुरुपयोग गरेको बताए ।

छलफलमा सहभागी काँग्रेस नेताहरुका अनुसार वडा प्रहरीमा सामान्य छलफल हुँदा आपत्तिजनक म्यासेज देखिएको थिएन । तर पनि बेलबारीका इञ्चार्जले शक्तिको दुरुपयोग गर्दै गिरीलाई बोलाएर बिनाकारण थुनामा राखी मानसिक यातना दिएको आरोप ती नेताले लगाएका छन् ।

पहुँचवाला नेताहरुको आग्रहपछि साँझ प्रहरीले मोबाइलको सबै म्यासेज डिटिल गरेर मात्र गिरीलाई हिरासत मुक्त गरेको थियो । इप्रका बेलबारीका ईन्चार्ज इन्स्पेक्टर बुढाथोकीले भने महानगरका मेयरका स्वकिय गिरीसँग केही विवाद भएकाले सामान्य सोधपुछका लागि बोलाउँदा उनी आफैं बेलबारी आएको बताएर घटना गुमसुम बनाएका छन् ।समाचार साभार :जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।