मोलुङ गाउँपालिकाद्वारा औद्योगिक ग्राम स्थापना गर्न सरकारसँग सम्झौता

मोलुङ गाउँपालिकाद्वारा औद्योगिक ग्राम स्थापना गर्न सरकारसँग सम्झौता

कपन अनलाइन

ओखलढुंगा ,फागुन २३।जिल्लाको मोलुङ गाउँपालिका औद्योगिक ग्राम स्थापनाका लागि सरकारसँग सम्झौता गर्ने प्रदेश नं १ कै पहिलो गाउँपालिका बनेको छ ।

विहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाले सरकारसँग सम्झौता गरेको हो ।

औद्योगिक ग्राम निर्माणका लागि सम्झौता कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र गाउँपालिका अध्यक्ष मणिराज राई सहभागी थिए । मन्त्रालयमा भएको सम्झौतापश्चात् मन्त्रालयले ९२ लाखको चेक समेत गाउँपालिकालाई हस्तान्तरण गरेको अध्यक्ष राईले बताए ।

औद्योगिक ग्रामका लागि गाउँपालिकाले यसअघि नै जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाएको थियो । जग्गा प्राप्तिको केही प्रक्रिया अझै बाँकी रहेपनि गाउँपालिकाले चाँडै औद्योगिक ग्रामको काम थाल्ने जनाएको छ । औद्योगिक ग्राम मोलुङ गाउँपालिकाको वडा नं ६ मा रहने टुंगो लागेको छ । ‘हामीले औद्योगिक ग्राममा बढी मात्रामा जडीबुटी भण्डारण र प्रशोधनको काम गर्छौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यसले समृद्ध मोलुङ बनाउन टेवा पुर्याउँछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।’

औद्योगिक ग्रामका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरेको छ । प्रतिवेदनमा औद्योगिक ग्राम निर्माणका लागि ५ करोडको हाराहारीमा लागत लाग्ने अनुमान गरिएको छ ।

सरकारले स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरेर कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान बढाउने र गाउँगाउँमा औद्योगिक विकास र उद्यमशीलता विकास गर्दै आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य लिएको छ । सरकारले चालु आर्थिक वर्षमा देशभरिका ३७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्दैछ ।

तपाइँको प्रतिक्रिया ।