हराएकाे १० तोला सुनसहित ३ ल्यापटप फेला
कपन अनलाइन
काठमाडौं, फागुन २०। प्रहरीले हराएको १० तोला सुनसहित ३ वटा ल्यापटप फेला पारेको छ । फागुन १८ गते साँझ करिब ७ बजे कपन, सरस्वती नगरबाट गल्फुटारसम्म यात्रा गर्ने क्रममा नम्बर नखुलेको भाडा कारमा गल्फुटार बस्ने मञ्जु लिम्बुको करिब १० तोला सुन छुटेको थियो ।
उनले सुन हराएको सोमबार महानगरीय अपराध महाशाखामा निवेदन दिएकी थिइन् । सीसीटिभीको सहयाताले खोजी गर्दा राम बहादुर स्याङतान चालक रहेको बा.२ ज ११५३ नं. को भाडाकारमा रहेको पत्ता लगाईएको थियो । अनुसन्धानबाट सुन उक्त ट्याक्सीमै रहेको खुल्न आइ धनीलाई फिर्ता गरिएको छ ।
त्यस्तै, फागुन १८ गते नै नेपाल विकास अनुसन्धान प्रतिष्ठानबाट पुल्चोकसम्म जाने क्रममा बा १ ज १४९४ नम्बर भाडा कारमा प्रतिष्ठानका अधिकृत मनिषा रायमाझीको ३ वटा ल्यापटप छुटेको थियो ।
उनले ट्राफिक कन्ट्रोल रूमको हटलाईन १०३ फोन गरि जानकारी दिएपछि महाशाखाको खोजतलास शाखाले उक्त ट्याक्सीलाई पक्राउ गरी अनुसन्धान गर्दा ट्याक्सीमा उक्त ३ वटा ल्यापटप रहेको पत्ता लगाई सम्बन्धित धनीलाई बुझाइएको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जनाएका छन् ।