अव प्राविधिक शिक्षामा जोड दिनु पर्दछ : प्रदेस सभा सदस्य नारायण सिलवाल
कपन अनलाइन
काठमाडौं ,फागुन १७ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश ३ का सांसद नारायण सिलवालले राज्यसहित अभिभावक र विद्यार्थीले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
काठमाडौं–४ स्थित कन्स्टेलेसन स्कुलको २८औं वार्षिकोत्सवमा सांसद सिलवालले व्यवहारिक शिक्षा आर्थिक समृद्धिमा पुग्ने सबैभन्दा छिटो माध्यम भएको बताएका हुन् ।’
उनले भविष्यमा कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरा विद्यालय, शिक्षक र शिक्षण सिकाइ क्रियाकलापमा भर पर्ने बताए । ‘हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा लिएर अघि बढेका छौँ’, सांसद सिलवालले भने, ‘यो आकांक्षा नेकपा वा सरकारको मात्रै होइन, सारा नेपालीको हो ।
त्यसैले विद्यालय तहबाट यो लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी काम गर्नुपर्छ ।’ पढाइसँगै विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप पनि महत्त्वपूर्ण हुने उनले बताए ।
‘क्रिकेटर सन्दीप लामिछानेलाई हेरौं, एउटा युवाले आफ्नाे जीवन मात्रै उकासेका छैनन्, नेपाल र नेपालीको शान पनि बढाएका छन्, विद्यालयमा हुने प्रभावकारी अतिरिक्त क्रियाकलापबाट सन्दीपजस्ता जनशक्ति उत्पादन गर्न सकिन्छ’, सांसद सिलवालले भने ।
अभिभावक र विद्यार्थीले आफ्नो क्षमता र रूचिअनुसारको विषय बढ्ने, त्यहीअनुसार अतिरिक्त क्रियाकलापमा भाग लिने हो भने परिणाम सोचेभन्दा धेरै सकारात्मक आउने सिलवालको भनाइ छ ।
नेकपा नेतृत्वको सरकारको प्राथमिकतामा पनि शिक्षा नै रहेको उल्लेख गर्दै सांसद सिलवालले भने, ‘सरकारले आर्थिक समृद्धिको एउटा महत्त्वपूर्ण आधार शिक्षालाई मानेको छ ।’
स्कुलका प्रिन्सिपल बाबुराम पाण्डेले आफूहरूले विद्यार्थीको रूचिअनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेको बताए । ‘मैले पढाएका विद्यार्थीहरू डाक्टर भए, इन्जिनियर भए, उत्कृष्ट व्यवसायी भए, सरकारी जागिरे भए’, उनले भने, ‘व्यवहारिक र उपयोगी शिक्षा नदिएको भए यो सम्भव थिएन ।’
शिक्षालाई व्यवसायसँग जोड्न नहुने भन्दै उनले भने, ‘हाम्रो स्कुलको शुल्क मध्यम आय भएका अभिभावकका लागि पनि उपयुक्त छ र हामी यो शुल्कमा वृद्धि गर्ने छैनौं ।’
तपाइँको प्रतिक्रिया ।