बीएससी सीएसआईटी क्रिकेट शनिबारदेखि
कपन अनलाइन
काठमाडौं ,फागुन १६। न्यु समिट कलेजको आयोजनामा आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
डिफेन्डिङ च्याम्पियनले प्रतियोगिता आयोजना गर्ने प्रावधान अनुरुप न्यु समिटले प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलन न्यु समिट कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवालीले जानकारी गराए । पत्रकार सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले विद्यालय स्तरको प्रतियोगिता प्रतिभावन खेलाडीको पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताउदै आयोजकलाई प्रतियोगिता आयोजनाका लागि धन्यवाद दिए ।
प्रतियोगितामा १३ छात्र टिमको सहभागिता रहने छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने न्यु समिटका निर्देशक तथा प्रतियोगिता संयोजक चोकराज दबाडीले जानकारी दिए । समूह ‘ए’ मा न्यु समिट, भक्तपुर बहुमुखी क्याम्पस र सेन्ट जेभियर्स, समूह ‘बी’ मा बिमा सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, स्वस्तिक कलेज र अमृत साइन्स कलेज, समूह ‘सी’ मा हिमालयन कलेज अफ इन्जिनिएरिङ, मदन भण्डारी मेमोरियल कलेज, सेन्ट लरेन्स र पाटन बहुमुखी क्याम्पस तथा समूह ‘डी’ मा प्राइम कलेज, एकेडेमिया इन्टरनेसनल कलेज र नेपालय रहेका छन् ।
विजेताले ६० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् । फागुन २८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलाइने छ । पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी, महासचिव प्रज्ज्वल ओली, हिमालयन कलेजका प्रिन्सिपल किशोर गौतमलगायतको उपस्थिति थियो ।