हेमोडाईलासिस सेवाका लागि बीरेन्द्र सैनिक अस्पताललाई महानगरको १ करोड ५० लाख अनुदान

हेमोडाईलासिस सेवाका लागि बीरेन्द्र सैनिक अस्पताललाई महानगरको १ करोड ५० लाख अनुदान

कपन अनलाइन

काठमाडौं ,फागुन १३। मृगौला रोगीको उपचारका लागि काठमाडौं महानगरपालिकाले बीरेन्द्र सैनिक अस्पताल छाउनीलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

मंगलबार सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जङ्गी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर के. सी. लाई उक्त रकम प्रदान गरेका हुन् ।उक्त सेवाका लागि गएको पुष २ गते महानगर र नेपाली सेनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम माघ ७ गतेबाट महानगरको शिफारिसमा हेमोडाईलासिस सेवा शुरु भइसकेको छ ।

यो सेवा लिनेमा वडा १५ डल्लुकी ६४ बर्षिया चन्द्र महर्जन पहिलो लाभग्राही हुनुहुन्छ । त्यसपछि वडा १५ स्वयम्भूकी ४७ बर्षिया सुवर्णमैयाँ ताम्राकार (स्थापित) र वडा २३ ओमबहालकी ७५ बर्षिया लक्ष्मी श्रेष्ठ हेमोडाइलासिस गराइरहनुभएको छ ।

यो रकम सेवा शुरुवात गर्नका लागि हो । यसपछि सेवा बिस्तार गर्न आवश्यक पूर्वाधार, मेसिन तथा उपकरण र जनशक्ति सम्बन्धि नेपाली सेनाले योजनासहितको खाका उपलब्ध गराएपछि कार्य प्रगतिका आधारमा महानगरले थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ ।

रकम हस्तान्तरणपछि बोल्दै प्रमुख शाक्यले शुरु भएको कार्यक्रमलाई निरन्तर बिस्तार गर्दै लगिने बताए । जटिल खालको रोगका लागि बिशेषज्ञ उपचारका लागि महानगरले नेपाली सेनासँग सहकार्य गरेको हो । उपचारका क्रममा आवश्यक पर्ने अन्य सेवा थप्दै लगिनेछ, मेयर शाक्यको भनाइ थियो ।

रकम हस्तान्तरण कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमा डंगोल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, बीरेन्द्र सैनिक अस्पताल छाउनीका निमित्त कमान्डान्ट सहायक रथी नगेन्द्रकुमार के. सी., महासेनानी डा. अजय राजभण्डारी, महानगरको जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रबिलास बज्राचार्य, बित्त बिभागका प्रमुख बुद्धरत्न मानन्धरलगायत अधिकारीको सहभागी  रहेका थिए।

महानगरबासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ ।

सम्झौताबमोजिम मृगौला बिरामीहरुका लागि हेमोडाईलासिस सेवासँगै बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि. सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ ।

फोटो सौजन्य : काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।