झण्डा यो फर्फराओस् !
कपन अनलाइन
काठमाडौं ,फागुन ११। त्रिलोचन आचार्य/ कविता
झण्डा यो फर्फराओस् गिरि शिखर विशे हीनताबोध फालोस्
नेपाली सन्ततीले युग युग तक यो दिव्य ध्वजा उचालोस्
कालो टीका पछौटेपन अनि गरिबी शीघ्र आफैँ पखालोस्
छन् हाम्रै देशमा छन् धन जन मन छन् खेर केही नफालोस् ।
झण्डा यो फर्फराओस् सब मन मनमा मान सम्मान देओस्
डाँडा पाखा तराई कुसुम लहलहासाथ उद्यानझैँ होेस्
माटो ढोगेर नानी सकल दिन कुदून् दौडियुन् भेट्न लक्ष्य
बाटो खोलेर हामी नविनतम घुमौँ फुर्किँदै अन्तरिक्ष ।
झण्डा यो फर्फराओस् सबल कर विशे हुन्न गल्नै सिमाना
यै धर्ती भित्र भेट्छौँ खनिज थरिथरी दिव्य भण्डार नाना
हाम्रै चोखा हिमाली रुप स्वरुप स्वयं भव्य संसार तान्ने
हाम्रै छन् ताल झर्ना सलल नद नदी के छ के छैन भन्ने ?
झण्डा यो फर्फराओस् निडर अति बनी भन्दथे भक्ति थापा
हामी त्यो घट्न दिन्नौँ छवि अघि अघि भै घोक्दछौँ वीर गाथा
नेपाली आज लिन्छौ शपथ दिन दिनै नित्य छोएर माटो
हामी भै एक लागे प्रगति पथ चिनी हेप्छ आएर खै को ?
झण्डा यो फर्फराओस् जगतभर जहाँ पुग्छ यो भेष भाषा
गोर्खाली शान जस्तै जगत भर सकोस् प्राणमा भर्न आशा
सक्छौँ लागे जुरुक्कै उठिकन दगुरे गर्विलो बन्न जानौँ
चड्दै ठाडो उकालो कठिन प्रगतिको टेकियो भन्न जानौँ ।