हिसान खेलकुद सप्ताह बुधबारदेखि
कपन अनलाइन
काठमाडौं माघ २८ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ ।
खेलकुद सप्ताहमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुने आयोजक हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा हुने छ ।
माकलबारीस्थित जया मल्टिपल कलेज र मनकामना फुटसलमा हुने फुटसलको ब्वाइजमा १६ र गल्र्समा १२ टिमको सहभागिता रहने छ । बास्केटबल÷भलिबलको ब्वाइजमा समान २०–२० र गल्समा समान १०–१० टिमले भाग लिने छन् । बास्केटबल र भलिबल दुवै बसुन्धरास्थित ऋत एकेडेमीमा खेलाइने छ । टेबलटेनिसमा करिब २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नयाँ बानेश्वरस्थित प्रिमियर कलेजमा हुने टेबलटेनिसमा ब्वाइज÷गल्र्सतर्फ सिंगल्स र डबल्स गरी ४ स्पर्धा समावेश छन् । विश्व निकेतनमा हुने टग अफ वारको ब्वाइजमा २४ र गल्र्समा १६ टिमको सहभागिता पक्का भएको जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा हिसानका केन्द्रीय अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद सप्ताह नयाँ प्रतिभावन खेलाडी पहिचान गर्ने राम्रो ‘प्लेटफर्म’ सावित भएको धारणा व्यक्त गरे । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजक हिसानका सह–सचिव आनन्दकुमार यादवले जानकारी दिए ।
‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नारा दिइएको खेलकुद सप्ताहअन्तर्गत बास्केटबल र भलिबल माघ २९ गते, टेबलटेनिस फागुन १ गते तथा फुटसल र टग अफ वार फागुन २ गतेदेखि सुरु हुने छ । उद्घाटन फागुन २९ गते बसुन्धरास्थित ऋत एकेडेमीमा हुने छ । खेलकुद सप्ताहमा खेल बाहेक कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ ।