बागमती प्रदेश सरकारले अबको ५ महिनाभित्र बिजुली बस चलाउने
कपन अनलाइन
हेटौडा,माघ ६ ।
बागमती प्रदेश सरकारले अबको ५ महिनाभित्र बिजुली बस चलाउने भएको छ । हेटौंडादेखि भरतुर, काठमाडौं हुँदै धुलिखेलसम्म यही आर्थिक वर्षभित्र बिजुली बस चलाउने भएको हो ।
आइतबार हेटौंडास्थित मुख्यमन्त्री निवासमा काठमाडौं, ललितपुर, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, बुढानिलकण्ठ, टोखा, धुलिखेल नगरपालिका र गजुरी, गल्छीलगायतका गाउँपालिकासँग बिजुली बस सञ्चालन गर्ने विषयमा छलफल भएकोथियो ।
निकट भविष्यमै यातायात निगम गठन गरेर यो आर्थिक वर्षभित्र बिजुली बस चलाउने योजना अघि सारेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् विद्युतीय यातायात एवम् सरसफाई मेसिन सञ्चालन समितिका अध्यक्ष दीपक निरौलाले बताए । निरौलाले अबको ५ महिनाभित्र हेटौंडादेखि काठमाडौं र त्याहाँबाट धुलिखेलसम्म बजिुली बस सञ्चालन हुने बताएका छन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यही महिनाभित्र बस खरिद प्रक्रिया अगाडि बढाइने निरौलाले बताए । उनका अनुसार बस खरिदको लागि ग्लोबर टेण्डर गर्ने जानकारी दिएका छन ।
विद्युतीय बस चार्ज गर्न हेटौंडा, भरतपुर, गजुरी, गल्छि काठमाडौं र धुलिखेलमा स्टेशन बनाउने र स्टेसन निर्माणको लागि गजुरी र गल्छि गाउँपालिकाको क्षेत्रमा स्थान खोज्न स्थानीय तहलाई जिम्मावारी दिइएको उनले जानकारी दिए ।
हेटौंडाबाट भरतपुर हुँदै काठमाडौंसम्म २२७ र काठमाडौंबाट धुलिखेल ३० किलोमिटर दुरी हुनेछ । प्रदेश सरकारले विद्युतीय बस खरिद तथा सञ्चालनमा १ सय १९ वटै स्थानीय तहलाई लगानी गर्न आह्वान गरेको छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बस खरिदका लागि महानगरले १० करोड लगानी गर्ने सो अवसरमा जानकारी दिएका थिए ।