कास्कून द्वारा आयोजित “सम्पत्ति शुद्धीकरण निवारण अभिमुखिकरण” कार्यक्रम सम्पन्न

कास्कून द्वारा आयोजित “सम्पत्ति शुद्धीकरण निवारण अभिमुखिकरण” कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं,पुस २२ । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा “सम्पत्ति शुद्धीकरण निवारण अभिमुखिकरण” कार्यक्रम सम्पन्न भएको छ ।

पौष २१गते शनिबार मिलनचोक पार्टी भेन्यूमा सम्पन्न भएको उक्त कार्यक्रममा सहकारी विभागको प्राविधिक सहयोग र सिन्धुसागर बचत तथा ऋण सहकारी संस्था लि. सरस्वतीनगर, कपन काठमाडौंको व्यवस्थापनमा संचालन भएको थियो  ।

सहकारीका लागि जारी गरेको “सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि निर्देशिका” को कार्यान्वयनका विषयमा कास्कूनको रणनीतिक योजना अनुसार नीतिगत बहस पैरबी रणनीतिक उद्देश्य अनुरुप संघले कार्यक्रमको आयोजना गरेको हो । सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणका विषयमा सदस्य संस्थाहरुलाई सुसुचित गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न साकोसबाट १०० जना सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुनपा १२ नं  वडाका वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईको विशेष आतिथ्यता, नगरपालिकाका सल्लाहकार मिठाराम अधिकारी, सहकारी शाखा प्रमुख बासुदेव फुयाल, कास्कूनका सचिव सालिकराम पुडासैनी, संचालक सिमा पुरीको आतिथ्यता रहेको थियो ।

कास्कूनका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा भएको   उक्त कार्यक्रम कास्कूनका संचालक एवम् कार्यक्रम तथा शिक्षा उपसमितिका संयोजक पुरुषोत्तम नेपालले संचालन गरेका थिए  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुनपा नगर प्रमुख खरेलले कास्कूनले सदस्यहरुलाई यस्ता विषयका कार्यक्रमको आयोजना गरेकोमा कास्कून अध्यक्ष दिपक पनेरु लगाएत संचालक समितिलाई धन्यवाद व्यक्त गरे । उनले सहकारीहरु कानुनको अज्ञानता, कमजोर व्यवस्थापन र अपारदर्शी रुपमा संचालन हुन नहुने बताउदै नगरपालिकाले अब सहकारी अनुगमनको कार्यलाई तिव्रताका साथ अगाडी बढाउने र सिद्धान्त, मुल्य मान्यता र बेथितीमा संचालित सहकारीहरुलाई कारबाही गरि बन्द गर्ने सम्मका योजना नगरपालिकाले निर्माण गरेको बताए ।

कार्यक्रम समापनका अवसरमा बोल्दै अध्यक्ष दिपक पनेरुले कास्कूनले अघि सारेका कार्यक्रमहरुमा सदस्य संस्थाहरुको साथ निरन्तर रहने बताए । उक्त अवसरमा अध्यक्ष पनेरुले अबको साकोसले मुनाफा हिसाब गरेर मात्र बस्ने समय होइन भन्दै संस्थालाई दिगो र गुणस्तरीय बनाउन कास्कूनले तय गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रममा सक्रिय सहभागि हुन र यस्ता कार्यक्रमहरुमा सदैब साथ र सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रम सहकारी विभागका कानुन अधिकृत मनुका घिमिरेले सहजीकरण गर्नु भएको थियो भने सहभागिहरुलाई कास्कूनका संचालक तथा कास्कून बुढानिलकण्ठ नगरपालिका संयोजक विनिता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारीले कास्कूनको वर्तमान अवस्था र चालु आर्थिक वर्षमा संघले संचालन गर्ने योजना तथा कार्यक्रमबारे प्रकाश परेका थिए।

तपाइँको प्रतिक्रिया ।