शंखारापुर नगरपालिकाद्वारा द्वन्द्वपीडित अपाङ्ग समाज नेपाललाई खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण

शंखारापुर नगरपालिकाद्वारा द्वन्द्वपीडित अपाङ्ग समाज नेपाललाई खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण

कपन अनलाइन

काठमाडौं, मंसिर १७ । २८ औं विश्व अपाङ्गता दिवस २०१९ को अवसरमा शंखारापुर नगरपालिकाद्वारा वडा नं – ६सलम्बुटारस्थित द्वन्द्वपीडित अपाङ्ग समाज नेपाल नामक संस्थालाई खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ।

“दिगो विकास लक्ष्य. अपांगमैत्री भबिस्य” भन्ने मूल नाराका साथ उक्त २८ औं विश्व अपाङ्गता दिवस  नगर उप- प्रमुख शुक्रलक्ष्मी श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त दिवसका अवसरमा  ४० जना द्वन्द्वपीडित तथा अपाङ्ग बालबालिकाहरूलाई आश्रय प्रदान गरिरहेको संस्थाको आवश्यकता बमोजिम सो सामग्री एक औपचारिक कार्यक्रमबीच संस्थाका अध्यक्ष युवराज थापालाई नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ र उप- प्रमुख शुक्रलक्ष्मीले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा अतिथिका रूपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडा,शिक्षा शाखा प्रमुख बौधराज निरौला,महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख निर्जला अधिकारी चुडाल,वडा अध्यक्ष ,वडा सदस्य,तथा अन्य शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख सुबर्ण श्रेष्ठले अपांगहरूको नाममा र्याली र सभाको आयोजना गर्नुभन्दा अपांग बालबालिकाहरूलाई थोरै भए पनि राहत होस् भनी यस्तो कार्यक्रमको आयोजना गरिएको बताए।

 

तपाइँको प्रतिक्रिया ।