मुक्तकहरू !
कपनअनलाइन
काठमाडौं,मंसिर ६। धर्मानन्द भट्ट/
साथीजस्तो कुनै साथी भेटिँदैन अचेल त
साथीकै सामुमा साथी केही राख्दैन इज्जत ।
स्वार्थको जगमा स्वार्थ बिउ रोपेर हुन्न नि
प्रेमको जगना प्रेम रोपौँ भन्दछु है म त ।।
सधैँ गुन्द्रुक खाएर काम गर्नु छ खेतमा
अनि ऊर्जा कहाँबाट आउला र शरीरमा !
बाँचुन्जेल निरोगी हौँ गरेर स्वस्थ भोजन
हाँस्नुपर्छ छँदासम्म बाँच्नुहुँदैन रोगमा ।।
बोलेको सब बिक्छ बोल्छु नभने सोचेर बोल्ने गरे
बुझ्ने छन् जनताहरू अब झुठा पोका नखोल्ने गरे ।
खोली कान दुवै सबै मन दिई सुन्दैन कोही पनि
चिल्ला भाषणबाट देश, जनतालाई पिरोल्ने गरे ।।
हरेक चाडमा आमासँगै बस्ने थियो मन
आमाकै हातका सेलरोटी खाई रमीकन ।
सानो उमेरमै मैले बाध्यता भो कमाउने
छोराछोरीहरू पाल्ने, घर चलाउने धन ।।
यो काठमाडौँतिर दुःख धेरै
पाएँ, बसेँ यैँ, भुल भो नि मेरै ।
बुझ्दै छु ऐले र त जान्छु आफ्नै
पुर्खाहरूको घरमा सबेरै ।