जावलाखेललाई हराउदै पुलिस चन्द्रागिरी गोल्डकपको क्वाटरफाइनलमा

जावलाखेललाई हराउदै पुलिस चन्द्रागिरी गोल्डकपको क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाडौं, २ मंसिर । चन्द्रागिरिमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिसले जावलाखेललाई हराउदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । चन्द्रागिरि स्थित नैकाप खेलमैदानमा भएको आजको खेलमा विभागीय नेपाल पुलिस क्लब जावलाखेलमाथि २–१ को अन्तरले अन्तिमा आठमा पुग्न सफल भएको हो । पुलिसको जितमा भोला सिलवाल र प्रवेश दनुवारले गोल गरे ।

जावलाखेलका विदेशी खेलाडी एडमा डम्बियाले गरेको गोल सान्त्वना बन्यो । नेपाल पुलिस क्लवले खेलको चौथो मिनेटमा नै एडमा डम्बियाको गोलबाट पछि परेको थियो । पुलिस सम्हालिन नपाउदा एडमा डम्बियाले हेडमार्फत गोल गर्दै जावलाखेललाई अग्रत दिलाएका थिए । पहिलो गोल गरेसँगै खेलमा हौसिएको जावलाखेलले पुलिसलाई लगातार दवावमा राखेपनि थप गोल गर्न सकेन । पुलिसले पहिलो हाफमा उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन ।

तर, दोस्रो हाफमा पुलिसले उच्च प्रदर्शन गर्दै पुलिसले दुई गोल गर्न सफल भयो । ५३औं मिनेटमा सुमन लामाको उत्कृष्ट मुभमा भोला सिलवालले उत्कृष्ट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । सुमनले मैदानको मध्यभागबाट चार खेलाडीलाई छक्याउदै दिएको पासमा भोला चुकेनन् । ७४औं मिनेटमा प्रवेश दनुवारले वान भर्सेस वानको अवस्थामा गोल गर्दै पुलिसलाई २–१ को पूनरागमन जित दिलाए ।

दोस्रो हाफमा भने जावलाखेलले उल्लेख्य प्रदर्शन गर्न नसक्दा शुरुवाती अग्रता लिएर पनि पराजित हुन पुग्यो । पुलिसका निर कुमार राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ५ हजार रुपैया हात पारे । अब पुलिसले क्वाटरफाइनलमा गत वर्षको विजेता च्यासल युथ क्लबसँग ७ मंसिरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा मंगलबार संकटा र विभागीय नेपाल एपीएफ क्लबबीच दिउँसो २ः३० बजेपछि खेल हुने आयोजक कमिटिका संयोजक पुर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले बताए ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् । समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् ।

१० र ११ मंसिरमा सेमिफाइनल तथा १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैया रहेको छ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

तपाइँको प्रतिक्रिया ।