स्थानीयको दवाबपश्चात खारेको शंकरे डाँडो जस्ताको तस्तै बनाइने निर्णय
कपन अनलाइनकपनको मनमोहक प्राकृतिक एवम् सांस्कृतिक शंकरे डाँडोलाई कपन गाविसको भवन निर्माणको लागि दक्षिण दिशापट्टिको करिब ६० प्रतिशत भाग खारेपछि स्थानीयले आज आक्रोश प्रदर्शन गरे । भएको मौलिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई बचाउनुको सट्टा बिनाश गर्न गाविस लागेको भन्दै करिब २०० स्थानीय बिहान ८ बजेदेखि कपन गाविस परिसरमा उपस्थित थिए ।
शिब बजगाईं अध्यक्ष भएको निमार्ण समितिले स्थानीयसँग सरोकार नगरी डाँडो खारेपछि आज दिनभर कपन गाविस तनावग्रस्त बनिरह्यो । निर्माण समितिले गरेको गल्तिका कारण स्थानीयबाट पटकपटक कपन गाविसका सचिवलाई निशान बनाइरहेपछि साँझ ४ बजे निर्माण समितिको बैठक बोलाइएको थियो । अबेर साँझ ६ बजे निर्माण समितिले खारेको डाँडो जस्ताको तस्तै बनाउने भनेर निर्णय गरेपछि स्थिति शान्त भएको थियो । अब तत्काललको लागि कपन गाविसको भवन कुन ठाउँमा बन्ने विषय अब अन्यौलमा पुगेको छ । अब कपन गाविसको भवन कुन ठाउँमा बनाउने भन्ने विषयमा सर्वदलीय समितिले निर्णय नगरेसम्म प्रकृया पूर्णतः अबरुद्ध भएको गाविसका प्राविधिक विनोद पौडेलले कपन अनलाइनलाई बताए । स्थानीयहरू शंकरे डाँडा बचाउ अभियान समिति बनाउने तयारीमा जुटेका छन् ।