बुढानिलकण्ठमा रहेको चूडामणि शर्माको घर तोडफोडमा संलग्न ४१ जना
कपन अनलाइन
काठमाडौ,माघ २३।
आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको घर तोडफोडमा संलग्न ४१ जना विप्लव कार्यकर्ता पक्राउ परेका छन्। मंगलबार दिउँसो बुढानिलकण्ठमा रहेको शर्माको घरमा गाडीमा गएर तोडफोड गरेका थिए।
प्रहरी मुख्यालयका प्रवक्ता डीएसपी मनोज न्यौपानेका अनुसार मंगलबार दिउँसो घर तोडफोड भए लगत्तै पकाउ परेका हुन्। तोडफोडबाट शर्माको घरका चार वटा झ्यालका सिसा फुटेका छन्। पक्राउ पर्नेमा १३ महिला र २८ पुरुष छन् ।
यअसघि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा लागेपछि निलम्बित भएको अवस्थामा गत असोज महिनामा शर्माको घरमा बम विस्फोट भएको थियो ।
बूढानिलकण्ठमा रहेको शर्माको घरमा असोज १ गते राति अज्ञात समूहले विस्फोटक पदार्थ पड्काएको थियो । विस्फोटबाट घरको गेटमा आगलागी भएको थियो ।
कर फछ्र्यौट गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी मुद्दा दायर गरेको थियो ।