कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

कपन अनलाइन 

अछाम, २२ माघ । पूर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ । मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ ।

लोकमार्गका ४८ पक्की पुल निर्माण भइसकेका र ३२ पुल निमार्णाधीन अवस्थामा रहेको आयोजना प्रमुख सुरेन्द्र थारले जानकारी दिए। ०६६ सालबाट निर्माण कार्य थालिएको उक्त पुल रु साढे २२ करोडको लागतमा निर्माण सम्पन्न भएको थारले जानकारी दिए ।

पक्की पुल बनेसँगै स्थानीयवासी निकै खुशी भएका छन् । नदी वारपार गर्न ‘फेरी’को साहारा लिएर जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो पक्की पुलले गाडी मोटरलाई मात्र हैन हामीलाई पनि आवत जावतमा सजिलो भएको छ स्थानीयवासी मीना नेपालीले खुशी व्यक्त गरे । अछामको बयाला गाविस घर भएकी मीनाले नेपालगन्ज, काठमाडाँै जाने क्रममा कयौँ पटक डुंगाको कठिन यात्रा गरेको सुनाए। अब जोखिमको यात्रा गर्नु पर्दैन खुशी हुदै उनले भने ।

डुंगाको जोखिमपूर्ण यात्रामा नदी तर्ने क्रममा डुंगा पल्टिएर कयाँै मानिसले ज्यान गुमाउनु परेको थियो भने कयौँ आफन्तका खुशी खोसेको थियो कर्णालीले । स्थानीयवासी धनबहादुर बोहरा भने पक्की पुल बनेसँगै अब मालसामान आपूर्ति गर्न मात्र हैन स्थानीयवासीले उत्पादन गरेको तरकारीले पनि बजार पाउनेमा ढुक्क छन् ।

संघसंस्थाले तरकारी र फलफूल खेती गर्न सिकायो तालीम लियौँ तर बजार नहुँदा स्थानीयवासीले आफूलाई खान पुग्ने गरी मात्र उत्पादन गर्ने गरेको उनले सुनाए।०६४ सालबाट निर्माण कार्य थालिएको लोकमार्गले पूर्वी नेपालको नुवाकोटदेखि पश्चिम नेपालको बैतडीलाई जोड्नेछ ।

कूल एक हजार ७८६ किलोमिटर लम्बाइ रहेको पुष्पलाल (मध्य पहाडी) लोकमार्गले मध्य नेपालका २५ जिल्लाका २१५ बस्तीलाई जोडेको छ । यो आयोजना निर्माणपछि एक करोड जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ ।

तपाइँको प्रतिक्रिया ।