अछामका धेरै गाँउबस्तीहरु युवा बिहिन
कपन अनलाइन
अछाम ,माघ २१ /एकेन्द्र महता
यूवाहरु रोजगारीको शिलसिलामा विदेशिएकाले अछामका धेरै गाँउ बस्तीहरु युवा बिहिन भएका छन् । बेरोजगारीका कारण गाउँका अधिकांश युवा मुग्लान तिर लागेपछि यहाँका अधिकांश गाँउ बस्तीहरु यूवा बिहिन भएका हुन् । यस्तै साँफेबगर नगरपालिका ३ नौलाकोट टोल पनि युवा विहीन भएको छ । दलित परिवारको बाक्लो बस्ती रहेको नौलाकोटमा आजभोली मलामी जान समेत युवा भेटिदैंनन् । नौलाकोटमा अहिले बृद्धाबृद्ध, महिला, केटाकेटीमात्र भेटिन्छन् ।
बेराजगारी समस्याका कारण अधिकांश युवा मुग्लान लागेपछि गाउँ सुन्य बनेको स्थानीय ९१ बर्षीया बृद्धा रम्बा बिक बताउँछिन् । रम्बा बिकका छोरा, बुहारी, नातिनातिना सबै भारत गएका छन् । उमेरको उत्तराद्र्धमा छोराछोरी मुग्लान लागेपछि उनी कष्टकर जीवन बिताउँदै आएकी छन् । दुई–तीन वर्ष अघिसम्म खेतीपाती लगाउनका लागि घर आउने उनका छोराबुहारी अचेल आएका छैनन् ।
‘जग्गा जमिन बाँझै छ,’ उनले भनिन् ‘आफू त आज हो कि भोलि, स्याहार सुसार गर्ने उमेरमा छोराबुहारी पनि घरमा छैनन् ।’ परम्परागत रुपमा चलि आएका र बर्षका एक पटक मात्र आउने चाडपर्वहरुको समयमा समेत घरमा कोही नहुँदा उराठ लाग्ने गरेको उनको भनाइ छ । स्थानीय मिना बिकलाई पनि यस्तै भएको छ । मिनाका श्रीमान् बितेको चार वर्ष पुग्यो ।
चार छोरा मध्ये दुई छोरा परदेशतिर लागेपछि उनी दुई नाबालक छोरालाई स्याहार सुसार गर्दै आएकी छन् । आर्थिक अवस्था कमजोर भएपछि बीचमै पढाई छोडेर भारतमा रोजगार गर्दै आएका भरत विकले पहुँचवालाले मात्रै रोजगार पाउने भएकाले आफू भारत गएर काम गर्दै आएको बताए । यो त एक उदाहरण मात्र हो यहाँका अधिकास दुर दराजका गाउहरु युवा बिहिन छन ।
साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कँुवरले बढ्दो बेरोजगारीले युवाहरु विदेश जान थालेपछि आफूलाई चिन्तित बनाएको बताए । उनले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि नगरपालिकाले कपाल काट्ने देखि कम्युटर चलाउन सक्ने खालका तालिमहरु सञ्चालन गरि यूवाहरुलाई स्वदेशमै स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।
तपाइँको प्रतिक्रिया ।