राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालको २ दिने एचआईभी संक्रमितहरुको राष्ट्रिय भेला ११ बुदे घोषणापत्र जारी गर्दै चितवनमा सम्पन्न
कपन अनलाइन
काठमाडौं,माघ ७ ।
राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले २ दिने एचआईभी संक्रमितहरुको राष्ट्रिय भेला ११ बुदे घोषणापत्र जारी गर्दै होटल ग्लोबल नारायणघाट चितवनमा सम्पन्न गरेको छ ।
देशका ७७ वटै जिल्लाका १०० भन्दा बढी एचआईभी संक्रमितहरुद्वारा स्थापित संस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो । सो भेलामा एड्स हेल्थकेयर फाण्डेशन नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुङ्गेल, सिसिएम नेपालका संयोजक महेश ढुङ्गेल र सेभ द चिल्ड्रेन ईन्टरनेशनल नेपालको तर्फबाट बरिष्ठ कार्यक्रम संयोजक हेम पौड्याल लगायत दातृ निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
एचआईभी संक्रमितहरुको राष्ट्रिय भेलाले चितवनमा जारी गरेको ११ बुँदे घोषणापत्र यस प्रकार रहेको छ ।
१) एचआईभी संक्रमितहरुले समुदायबाट भोग्नुपरेका लाञ्छना र भेदभाव न्यूनीकरण गरि गुणस्तरीय उपचारमा समान पहुँचको लागि सूनिश्चितता हुनुपर्ने र राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले राज्यले अंगीकार गरेको लक्ष्य ९० ९० ९० को उद्धेश्य प्राप्तीको लागि टेस्ट ट्रिट एण्ड रिटेंसन का लागि पैरवी र नेतृत्व गर्ने ।
२) ६५ प्रतिशतभन्दा धेरै संक्रमितहरुलाई आफ्नो जीवनकालमा कम्तीमा एकपटक क्षयरोगको संक्रमण हुने गरेको सन्दर्भमा उक्त समस्यालाई समाधान गर्न एकीकृत क्षयरोग एचआईभी कार्यक्रम सबै जिल्लामा लागु गर्ने ।
३) महासंघको नेतृत्वमा क्षयरोग–एचआईभी राष्ट्रिय समिती गठन गरी एचआईभी क्षयरोगको सह–संक्रमणलाई रोकथाम तथा उपचार गर्न पहुँच बृद्धिका लागि यस महासंघको राष्ट्रब्यापी सञ्जालद्वारा पहलकदमी लिने ।
४) सुईबाट लागुपदार्थ लिई संक्रमित भएकाहरुमा हेपाटाईटीस सी को संक्रमण दर र सो को कारणले मृत्युदर उच्च देखिएकोले उक्त समस्या निराकरण गर्न गुणस्तरीय उपचार सेवाको पहुँचमा बृद्धि गर्ने ।
५) हाल देशभरी रहेका एचआईभी संक्रमितहरुको पृष्ठभूमी हेर्दा ७५ प्रतिशत संक्रमितहरु रोजगारीको सिलसिलामा बसाईँसराई गरि बिदेश जानेहरुमा संक्रमण देखिएको र उनीहरुमा एचआईभी संक्रमण रोक्न र संक्रमितहरुलाई उपचारमा पहुँच पुर्याउन महासंघको नेतृत्वमा राष्ट्रिय समिती गठन गरी राष्ट्रिय निर्देशिका अन्तर्गत उपचार प्रणालीको दायरा भित्र ल्याउने ।
६) बैदेशिक रोजगारमा गएका व्यक्ति र तिनका परिवारहरु संक्रमित हुने मात्र नभई उनीहरुको गरिबीको कारणले दैनिक जीविकोपार्जनमा समस्या देखिएकोले उनीहरुको आर्थिकस्तर उकास्नको लागि विभिन्न सरोकारवाला निकायसंग समन्वय गरि कार्यक्रमहरु दीगो रुपमा सञ्चालन गर्ने ।
७) खुल्ला सीमानाका कारणले नेपाल र भारतको साझा समस्याको रुपमा रहेको एचआईभी संक्रमण र अन्य रोगहरुको न्युनीकरणको लागि द्विदेशीय सहकार्यको लागि बहुपक्षीय र द्विपक्षीय गोष्ठीहरु सञ्चालन गरि समाधानका लागि पहल गर्ने ।
८) संक्रमितहरुमाथि हुने कुनैपनि किसिमका लाञ्छना र भेदभाव हरुलाई अन्त्य गर्न नेपालको संबिधानले मानव अधिकारको लागि प्रदत्त गरेको प्रावधानको कार्यान्वयन सूनिश्चितता गर्ने ।
९) एचआईभी संक्रमित र प्रभावित बालबालिकाहरुको आधारभूत आवश्यकताको लागि एड्भोकेसी तथा उनीहरुको लागि उपयूक्त वातावरण तयार गर्ने ।
१०) निती नियम, स्रोत बाँडफाँड तथा योजना तर्जूमा लगायतका सरोकारवाला सबैखाले निकाय,तहहरुमा संक्रमित समुदायहरुको अर्थपूर्ण सहभागिताको सूनिश्चितता गर्ने ।
११) संक्रमितहरुको काममा दक्षता र क्षमता विकास गरि उनीहरुको गरिवी निवारण र आर्थिक स्तर उकास्नको लागि उद्यमशीलता विकास र रोजगारीका अवसरहरु सिर्जना हुने बातावरण तयार गर्ने ।
महासंघका अध्यक्ष अच्युत सिटौलाले चितवन घोषणापत्रलाई सरोकारवाला निकायसँग छलफल गरी सरकारलाई बुझाउने बताउनुभयो । देशभरका झण्डै एक सयजना प्रतिनिधि सहभागी भई दुई दिनसम्म छलफल गरेका थिए । नेपालमा ३३ हजार हाराहारी संक्रमित रहेको अनुमान छ । जसमध्ये २६ हजार दर्ता भएका छन् भने १३ हजारले औषधि सेवन गरिरहेका छन् । कार्यक्रम २०७४ माघ ६ र ७ गते होटल ग्लोबल, नारायणघाट चितवनमा आयोजना गरिएको थियो ।