प्लास्टिक झोला प्रयोग मुक्त नगरपालिका अभियान किन रोकियो ?
कपन अनलाइन
काठमाडौ,पौष २५ ।
बुढानिलकण्ठ नगरपालिकामा एक समय निकै गति लिएर संचालन भएको प्लास्टिक झोला मुक्त नगरपालिका अभियान अहिले हराएको छ ।साविकका गाउ विकास समितिका वातावरण समितिहरुको पहलमा सुरु गरिएको उक्त अभियानले विस्तारै सार्थक रुप लिदै गरेको अवस्थामा त्यस अभियानका अभियन्ताहरुको निस्कृयताका कारण सो अभियान सफल हुन् सकेन।
बुढानिलकण्ठ नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरि रहदा यहाको वातावरण र पर्यावरणलाई ध्यान दिनु पर्ने आवस्यक देखिन्छ तर सो सम्बन्धि कुनै किसिमको तयारी विना केवल नारामा मात्र यसलाई पर्यटकको केन्द्र बनाउने सोच्नु केवल दिवा स्वप्न बाहेक अन्य केहि हुने देखिदैन ।
मानव स्वास्थ्य र भौतिक वातावरणलाई प्रत्यक्ष असर परिरहेका प्लास्टिक जन्य सामग्रीको प्रयोगलाई न्यूनीकरण गर्दै निर्मुल पार्न सके मात्र यस क्षेत्रको वातावरण मानव स्वास्थ्य र प्राकृतिक सम्पदाको संरक्षण अनुकुल हुने देखिन्छ ।
निकै सफल रुपमा जनचेतना फैलाउदै अगाडी बढेको अभियान एक एक रोकिएको यस नगरपालिकामा सक्रिय रहेका एक अभियन्ताले बताए ।उनले यसरी यो अभियान रोकिनुमा अभियन्ताको उदासीनता र स्थानीय सरकारको पहल कदमिको कमि रहेको घुमाउरो तरिकाले स्वीकारे ।अहिले पनि प्लास्टिक झोलाको स्थानमा कागज वा कपडाको झोला प्रयोगका लागि जन चेतनामुलक कार्यक्रम संचालन गर्न सके प्लास्टिक जन्य झोला र अन्य बस्तुको प्रयोगमा विस्तारै कमि ल्याउन सकिने बताए ।
यो प्लास्टिक झोलाको प्रयोग न्यूनीकरण अभियान सफल बनाउन अहिले व्यापक जन चेतना मुलक कार्यक्रमको साथमा सहभागिता मुलक सामुहिक पहलकदमीको खाँचो रहेको एक जनप्रतिनिधि बताउछन ।नगरपालिकाले घोषणा गरेर वा त्यसमा परिपत्र जारी गरेर मात्र यो सफल नहुने उनको ठम्याई छ ।यसमा व्यापक जनताको सहभागिता र प्रतिवादत्ता आवस्यक पर्ने उनले बताए ।
बुढानिलकण्ठ नगरपालिकाले पर्यटनको विकासलाई आफ्नो प्रमुख काम भनेर किटान गरिरहदा त्यसको पूर्वाधारको रुपमा रहेको वातावारण सुधार र सर सफाईमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।त्यसका लागि हप्ता वा महिनामा कुनै क्षेत्र विशेष सफा गर्नुका साथै नगरपालिकाका प्रत्येक घर घरमा पुग्ने गरि संदेश मुलक अभियान र जन सहभगितामा आधारित विशेष कार्यक्रम संचालन गर्ने तर्फ ध्यान दिनु पर्ने जरुरि देखिएको छ ।
किनकी सर सफाई र वातावरण संरक्षण कुनै समय विशेषमा गरिने कार्यक्रम हैन यो त् निरन्तर चल्ने दैनिक प्रक्रिया हो ।खुल्ला दिशा मुक्त घोषणा गरिएको नगरपालिकामा अहिले सम्म एउटा पनि सार्वजनिक सौचालय औपचारिक रुपमा संचालनमा आएको छैन जसले बातावरणमा असर गरेको छ भने स्थानीयहरुले प्रयोग गर्ने प्लास्टिकको व्यवस्थापन सहि तरिकाले नगर्दा जन स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ ।
नगरपालिकाले फोहोर मैला व्यवस्थापनलाई प्राथमिकतामा राखी रहदा फोहोर उत्पादन हुने श्रोत र त्यसका कारणहरुको निराकरण गर्ने तर्फ ध्यान दिनुपर्ने देखिन्छ जसको सुरुवात सबै नगरवासीले आफु बाट सुरु गर्नु पर्ने देखिन्छ भने नगरपालिका र वातावरण संरक्षणमा सक्रिय रहेका अभियन्ताहरुले दिर्घकालिन योजना सहितको कार्य प्रारम्भ गर्नु पर्ने देखिन्छ ।
यो जन स्वास्थ्य संग सम्बन्धित गम्भीर विषय रहेकोले यो अभियान सधै जन चासोको विषयको रुपमा रहने छ भने सिघ्र यो अभियान पुन सुचारु नहुदा स्थानीय हरुको एउटा प्रश्न सधै नगरवासीले सोधिरहने छन कि जन स्वास्थ्य संग सम्बन्धित यो प्लास्टिक झोला प्रयोग मुक्त नगरपालिका अभियान किन रोकियो ?