जलविद्युत्मा लगानी बढाउन राष्ट्रपतिको आग्रह
कपन अनलाइन
काठमाडौं, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको आधार जलविद्युत् क्षेत्र भएकाले यसमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई आग्रह गरेकी छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्पो २०१८’ को शुक्रबार राजधानीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत् उत्पादन गर्ने मुलुक भएर पनि नेपाल पछाडि पर्नाका कारण खोजी गर्दै लगानी बढाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराइन् ।
ऊर्जा क्षेत्रको विकासबाट मात्रै मुलुकको समग्र आर्थिक क्षेत्रको विकास हुने भएकाले नयाँ प्रविधिको अन्वेषण गर्न, लगानी बढाउन र नीतिगत रुपमा कमीकमजोरी रहेको भए त्यसलाई सुधार गरेर जानसमेत राष्ट्रपति भण्डारीले अनुरोध गरिन् ।र
अपार जलस्रोतको सदुपयोग गर्नु हामी सबैको दायित्व रहेकामा जोड दिँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘ठूलो सम्भावना बोकेको यो क्षेत्रलाई प्रविधि, विधि र कार्यक्रममा समेटेर अगाडि बढाउनु पर्दछ । सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्दछ ।’