नागरिक सहभागिताबाटै महानगरको दिगो विकास सम्भवः प्रमुख विद्यासुन्दर शाक्य
कपन अनलाइन
काठमाडौं,मंसिर २९ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकहरुको सहभागिताले मात्र महानगरको दिगो विकास सम्भव हुने बताएका छन् । तेइसौँँ महानगर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नागरिकको सहभागितामा मात्र अपेक्षा अनुरुप विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याएका हुन् ।
महानगरको संवृद्धिमा महानगरवासीलाई अपनत्व बोध गर्न आग्रह गर्दै महानगर प्रमुख शाक्यले प्राप्त उपलब्धिको रक्षा गर्न र महानगरसँगै उपत्यकालाई नयाँ स्वरुप दिन आफू लागि पर्नेमा जोड दिए ।
कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले एकिकृत विकासको अवधारणका साथ अघि बढ्न सकेमात्र दिगो विकासले गति लिने धारणा व्यक्त गरिन ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले हाल शहरी व्यवस्थापनमा देखिएका चुनौतीको सामना गर्न नयाँ आयामका साथ अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट करदातामा संस्थागत तर्फ हिमालय बैँक र व्यक्तिगत तर्फ वडा नंं २ की सुशीलादेवी बस्नेतलाई सम्मान गरिएको थियो ।
यसैगरी महानगरमा बीस वर्षभन्दा बढी सेवा गर्नु भएका अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउदलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।
कार्यक्रम शुरु हुनु अघि नागरिकलाई सहरी व्यवस्थापनमा साझेदार बन्न आह्वान सहित वसन्तपुरदेखि इन्द्रचोक, असन, रानीपोखरी हुँदै राष्ट्रिय सभागृहसम्म -र्याली निकालिएको थियो ।