मुलुकलाई सम्पन्न राष्ट्र बनाउन वाम गठबन्धनः नेता नेपाल
कपन अनलाइन
काठमाडौँ, २ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने बताएका छन ।
संयुक्त वाम गठबन्धनद्वारा कागेश्वरी मनहरा–९ स्थित गोठाटारमा आज आयोजित चुनावी कार्यक्रममा उनले मुलुकमा भएका साधन र स्रोतलाई समुचित परिचालन गरी देश विकासका विभिन्न दृष्टिकोणको स्वरुपलाई पूरा गर्न वाम गठबन्धनसँग आवश्यक कार्यक्रम रहेको बताए ।
स्थानीय तहमा वाम गठबन्धनको अग्रता कायम रहेकाले अव जनताले प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा समन्वय हुनुपर्ने औँल्याए ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार समेत रहनुभएका नेता नेपालले देशको मुहार बदल्नका लागि वाम गठबन्धन गरिएको बताए।नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य प्रकाश गौतमले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी विधिको शासन कायम गर्ने वाम गठबन्धनको प्राथमिकता रहेको उल्लेख गरे।