शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस् : निर्वाचन आयोग
कपन अनलाइन
काठमाडौं, २५ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गरेका छन् ।
रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा डा यादवले रुकुम र रोल्पामा उम्मेदवारमाथि भएको आक्रमणप्रति भने, ‘उम्मेदवार लक्षित आक्रमण दु:खद हो, शुक्रबार र शनिबार(आज) भएका घटनाबाट हामी गम्भीर भएका छौंँ ।’
डा यादवले भने, यस्ता घटना कतै नहोस्, नदोहोरियोस् भनी गृह मन्त्रालयलाई सचेत गराउँदे यसबाट निर्वाचन नहोला कि भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरे । सबै मतदाताले निर्भयपूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्नेमा जोड दिँदै डा यादवले भोलि(आइतबार) उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार मंसीर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको र दोस्रो चरणमा हुने निर्वाचनका लागि १५ जिल्लाका मतपत्र छापिइसकेको छ । लोकतन्त्रको स्थायित्वका लागि सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै डा यादवले उम्मेदवारलाई पूर्णरुपमा आचारसंहिता पालना गर्न आग्रह गरे ।